अरुको फिल्मको प्रिमियरमा पुग्ने अन्जना आफ्नै फिल्मको प्रिमियरमा गायब

फिल्म ‘महापुरुष’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी नायिका अन्जना बराइली हाल ‘पुजार सार्की’मा काम गर्नका लागि  वर्कशपमा व्यस्त छिन् । 

यी नायिकाले अभिनय गरेको फिल्म ‘महापुरुष’ सुपरहिट भएपनि उनलाई खासै फाइदा नभएको टिप्पणी हुँदै आएको छ । तर, यो फिल्म रिलिज भएपछि अन्जना अधिकांश फिल्मको प्रिमियरमा पुगिन् । उनलाई प्रिमियरमा पुग्ने नायिकाको रुपमा पनि फिल्म क्षेत्रमा चित्रित गरियो । 

तर, उनै नायिका आफूले अभिनय गरेको फिल्म ‘चित्रा’को प्रिमियरमा भने गायब बनिन् । यो फिल्मको प्रिमियर सोमबार काठमाडौंमा आयोजना गरिएको थियो । जहाँ, काठमाडौंमा नै भएर पनि नायिका बराइली भने उपस्थित भइनन् । उसो त, अन्जना फिल्मको प्रमोसनमा पनि कही कतै देखिइनन् । 

यो फिल्ममा उनको भूमिका विशेष छ । तर, जति भूमिकामा उनले काम गरेकी छिन्, त्यो प्रभावकारी छ । अन्जना अरु कलाकारले अभिनय गरेको फिल्ममा पुग्नका लागि समय निकाल्ने नायिका हुन् । तर, आफैले अभिनय गरेको फिल्मको प्रिमियरमा भने उपस्थित हुन उनले किन आवश्यक नठानेकी होलिन् ?