करिअर चम्काउँला भन्ने नीतिको चाहना पूरा

पूर्व मिस इन्टरनेसनल नीति शाहलाई फिल्म क्षेत्रमा प्रवेश गर्न नै हम्मे हम्मे परिरहेको थियो । भनौँ, नीति आफूलाई अभिनेत्रीका रूपमा उभ्याउनलाई सगरमाथा चढे झैँ भइरहेको थियो ।

हुन त, नेपालमा मिस नेपालसँग जोडिएका युवतीलाई फिल्ममा डेब्यु गर्न रत्ती पनि गाह्रो काम थिएन । तर नीतिलाई भने पहिलो फिल्म खेल्न साह्रै सकस पर्‍यो ।

कुनै ताका मोडलिङ गर्दा फिल्मको अफर लिएर जाने निर्माता निर्देशकलाई नीतिले फिल्ममा रुचि नभएको जवाफ दिएर फर्काउने गरेकी थिइन् । तर एउटा हाई प्रोफाइल ब्रेकअप पछि अचानक उनलाई फिल्म खेल्ने हुटहुटी चल्यो । आफैँ फिल्म बनाउनेदेखि खेल्नेसम्मका लागि कसरत थालिन् । उनले ल भन्नु मात्र के थियो फिल्म खेल्ने अफरको ताँती लाग्यो ।

यसपछि त उनले अभिनय गर्ने भनेर ४ वटा फिल्म नै साइन गरिन् । त्योमध्ये उनले अनमोल केसीसँग ‘एक्स नाइन’ साइन गरिन् । तर आजभोलि भन्दा भन्दै त्यो फिल्म फ्लोरमा जानै सकेन । आजित भएर नीति पनि त्यो फिल्मबाट अलग भएको घोषणा गर्न बाध्य भइन् ।

लामो समयको पर्खाइ चलिरहँदा उनले अनमोलसँग नभए पछि प्रदीप खड्काको जोडी भएर अभिनय गर्ने कम्मर कसिन् । प्रदीपको मुख्य भूमिका रहने ‘कामिनो’मा नीति लिडिङ लेडी रहने खबर आयो । तर यो फिल्म पनि बन्ने भन्दा भन्दै पनि बनेन । ‘कामिनो’ पनि छाड्नु परेपछि दिक्क हुँदै नीति अभिनयमा पोख्त बनाउन मुम्बई लागेकी थिइन् ।

मुम्बई पुगेकी नीतिलाई फिल्म ‘रावायण’का लागि अफर आएपछि उनी पुनः नेपाल आइन् । नीतिलाई यो पटक साइन गरेको फिल्म ‘रावायण’ त बन्छ भन्ने पक्का थियो । किनकि, यो फिल्मको तयारी पनि चलिसकेको थियो । तर, अन्तिम समयमा निर्माणपक्ष र नायक अनमोल केसीबिच कुरा नमिल्दा फिल्मको छायांकन नै अन्यौलता हुँदै बन्न नबन्ने अनिश्चित हुन पुग्यो । नीतिले ‘रावायण’का लागि ‘डिग्री माइला’बाट आएको अफर टुक्राएकी थिइन् ।

नीतिका लागि फिल्म क्षेत्रमा प्रवेश गर्न यति गाह्रो किन भइरहेको होला ? भन्ने थियो । धेरैले सोचेका थिए, अब नीतिले हार मानिन् । त्यसयता फिल्ममा आफ्नो दरिलो कमब्याक गराउने चाहना पुरा नहुने जस्तो नदेखिएपछि नीति पर्ख र हेरको समयमा थिइन् । यो कुराकै बिच अचानक उनले नयाँ फिल्म ‘खजुरे ब्रो’ गर्न लागेको समाचार आयो । केही दिनअघि नै सुटिङ सुरु भएको फिल्मको सोमबार औपचारिक घोषणा समेत भयो । घोषणा कार्यक्रममा नीतिले मुखै खोलेर भनिन् , ‘अनमोल र प्रदीपसँग फिल्म खेल्न जुरेको रहेनछ । रियर राईसँग जुर्यो ।’

मजाक मजाकमा नीतिले यसो भने पनि उनको यो भनाइमा पीडा झल्कन्छ । एक नम्बर मानिएका हिरोसँग डेब्यु गरेर करिअर चम्काउँला भन्ने नीतिको चाहना पूरा भएन । आखिर, फिल्म त खेलेरै छाडिन् नीतिले ।