सानो मुद्दामा ठूलो ‘पञ्चायत’

- मेराेफिल्म

नेपाली सिनेमाका लागि वर्ष २०७४, विविध कथामा बनेका फिल्मका लागि स्मरणीय रहनेछ । यो वर्ष कथाका हिसाबले बिल्कुलै नयाँ नयाँ कथा आए तर समस्या पुरानै रह्यो । अर्थात कथा अनुुसारको प्रस्तुतिमा परिपक्वता देखिएन । गत शुक्रबारबाट रिलिज भएको ‘पञ्चायत’ यही कोटीमा पर्छ । लेखक÷निर्देशकको दोहोरो अभिभारा लिएका शिवम् अधिकारीले भन्नका लागि तुलनात्मक रुपमा कथा त नयाँ छानेका थिए तर प्रस्तुतिमा भने सोही अनुसारको मेहनत गर्न सकेनन् । त्यसैले ‘पञ्चायत’ राम्रो बन्ने सम्भावना हुँदाहुँदै पनि ठिकैको फिल्मको रुपमा दर्शकमाझ आएको छ ।
‘पञ्चायत’ कथा हो १४ वर्षीय नीता ढुंगाना (कोपिला)को । पश्चिमतिरको एउटा गाउँमा कोपिलाको जीवन साथीहरुसँग कखरा सिक्दै र खेल्दै बितिरहेको छ । यही गाउँमा काजीसाहेब पनि छन् जो न्यायदाताको रुपमा गाउँभरि पूजनीय छन् । उनको न्यायप्रतिको निष्ठा त्यतिबेला देखिन्छ जब उनले आफ्नै छोरालाई पनि तल्लो जातकी युवतीलाई घर भित्र्याउन र सकार्न बाध्य पार्छन् । तर, समयक्रममा काजी साहेब आफैं यस्तो धर्मसंकटमा पर्छन् जहाँ उनले न्यायदाताको तराजुमा आफैंलाई जोख्न पर्ने समय आउँछ । कोपिलासँगको एउटा घटनाले सधैं पुर्पक्ष गर्ने काजी आफैं कठघरामा पर्छन् । तर, उनले कोपिलालाई न्याय दिन्छन् कि दिन्नन् ? फिल्मको कथा यसको उत्तरसँगै देखिन्छ ।
‘सुश्री’बाट लेखक हुँदै फिल्म निर्देशनमा हामफालेका निर्देशक शिवम अधिकारीले दोस्रो फिल्ममा परम्परागत कथा नछानेर पहिलो बाजी जितेका छन् । निर्देशकको रुपमा पनि उनले बालिकाबाट बयस्क हुँदै गरेकी कोपिलाको हाउभाउ र मनोविज्ञान उतार्न राम्रै मेहनत गरेका छन् । यस्तै मेहनत काजीको चरिण चित्रणमा पनि देखिन्छ । निर्देशकको रुपमा चरित्रको लवजमा गरेको मेहनतको जस पनि शिवमलाई नै जान्छ । तर त्यसका बावजुद पनि फिल्मलाई गहिराईमा पुर्याउन भने शिवम् चुकेका छन् । फिल्म हेरेर निस्कँदा दर्शक फरक कथा हेरेर निस्किएको त अनुभूति त गर्छन् तर सँगसँगै केही नपुगेको पनि महसुस गर्छन् । फिल्ममा रहेका दृश्यलाई ‘ड्रामाटिक’ उचाइमा पुर्याउन नसक्दा दर्शकमा यस्तो भाव पैदा हुन जान्छ ।
फिल्ममा काजीले पञ्चायतमा दिएको भाषण अनावश्यक लामो छ । त्यसैगरी कोपिलाको अर्धनग्न शरिर पनि बारम्बार आइरहँदा दर्शकलाई झिझो लाग्छ । फिल्मको अर्को कमजोरी के हो भने नीताको अनुहारले उनी १४ वर्षकी मात्र देखाउँदैन । त्यसैले दृश्यहरुमा जसरी उनलाई शारीरिक अवयवको विकासका क्रममा उत्सुक देखाइएको छ, त्यसमा दर्शक सहमत हुन सक्दैनन् । निर्देशकले काजीकी श्रीमति (रुपा राना)लाई आदर्शवादी देखाएर पनि फिल्ममा द्धन्द्धको विकास हुने सम्भावनालाई कमजोर बनाएका छन् । नारीहरु त्यसै पनि अर्की युवतीसँग सधैं सशंकित हुन्छन् अझ शारीरिक संसर्गकै स्थितिमा पुगेको श्रीमानलाई सजिलै स्वीकार्ने नारी समाज छैन । अझ २०३३ सालमा त झनै थिएन तर निर्देशकले काजीकी श्रीमतिलाई अति आदर्शवादी देखाएका छन् जसले गर्दा दोस्रो हाफमा फिल्मको द्धन्द्ध काजी र कोपिलाको मनोविज्ञानमा मात्र सीमित भएको छ । यो अवस्थालाई निर्देशकले मज्जाले प्रयोग गर्न सक्थे । यसैगरी काजीको यौन मनोविज्ञान पनि दर्शकसम्म सञ्चारित भएको छैन जसले कथामा टर्निङ प्वाइन्टको रुपमा काम गरेको छ ।
भएको घटना मात्र ससर्ती देखाउनु कथावाचकको धर्म हैन । पुराना रीति रिवाजमा निर्देशकको पनि आफ्नो दृष्टिकोण रहनु पर्छ । यस अर्थमा पनि शिवमले पञ्चायतलाई कथा भन्ने माध्यममा मात्र सीमित गरेका छन् । उनकै फिल्ममा हुने जस्तो घटनामा निर्देशकको दृष्टिकोण के रहन्थ्यो त्यो पनि बताउन जरुरी हुन्छ । यो काम निर्देशकले कुनै पात्रलाई बोल्न लगाएर गर्न सक्छ, तर निर्देशकको ध्यान यतातिर गएको छैन ।
केही कमजोरीका बावजुद ‘पञ्चायत’ हेर्न लायकको सिनेमा भने हो । पिरियोडिक कथा छान्नु र त्यसमा इमान्दार रहनु फिल्म र निर्देशकको सफलता हो । नेपालमै भनिन बाँकी कथा छन् र तिनलाई भनिन पर्छ भन्ने आग्रहमा रहेर यो फिल्म हेर्ने हो भने चाहिँ फिल्म भन्न चाहेको कथा भन्नमा सफल छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

२०७४ चैत ५ गते ३:५९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *