योगमाया सम्मानबाट निहारिका र ज्ञानमणि सम्मानित

नेपाल स्रष्टा समाजले समाजसुधारक योगमायाका नाममा स्थापना गरिएका दुई वटा सम्मान योगमाया दिवसको अवसरमा आज प्रदान गरेको छ । २५,१११ राशिको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार नीलम कार्की निहारिकालाई र २०,१११ राशिको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान इतिहास तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई प्रदान गरिएको हो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीका हातबाट स्रष्टा निलम कार्की निहारिकालाई योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान अर्पण गरिएको थियो । योगमाया विषयमा वृहत अनुसन्धान गरी आख्यानको माध्यमबाट योगमायालाई समाजमा चिनाउन गर्नुभएको योगदानका लागि उहाँलाई यो सम्मान प्रदान गरिएको हो । त्यस्तै नेपाल स्रष्टा समाजमा अध्यक्ष पवन आलोक र सम्मानका संस्थापक राजेश न्यौपानेका हातबाट योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान अर्पण गरिएको हो ।

यस वर्ष योगमाया विशेष सम्मानबाट हिरण्यप्रसाद भण्डारीलाई पनि सम्मान गरिएको छ । योगमायाको सान्निध्य पाउनु भएका ९९ वर्षका भण्डारीले योगमायाको व्यक्तित्वलाई बाहिर ल्याउन तथा उहाँका धेरै कुराहरुको संरक्षणमा विशेष योगदान पुर्याउनु भएको छ । उहाँका परिवारका छ जना सदस्य पनि योगमायासँगै जलसमाधिमा गएका थिए । उहाँहरुमा श्रद्धाञ्जली अर्पण गर्दै निज भण्डारीले योगमायाको व्यक्तित्वलाई उजागर गर्ने असल काम गरेकोले नेपाल स्रष्टा समाजलाई १० हजार आर्थिक सहयोग प्रदान गर्नुभयो ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान वि.सं. २०६५ सालदेखि प्रदान गर्दै आइएको हो भने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान यसै वर्ष २०७५ मा स्थापना गरिएको हो । यी दुवै सम्मानहरु सामाजिक, सांस्कृतिक वेथिति र कुरीतिका विरुद्ध विद्रोह गर्ने समाजसुधारक योगमायाले ६८ जना अनुयायीका साथ अरुण नदीमा जलसमाधि लिएको दिन पारेर प्रदान गरिएको हो ।