फागुन १७ मा ‘जात्रै जात्रा’

फिल्म ‘जात्रै जात्रा’ मार्फत पुन: वर्षा राउत र विपिन कार्की जोडीको रुपमा देखिने भएका छन् । एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । बरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यमा दशैं तथा तिहारको शुभकामना आदान प्रदान गर्दै बिहिबार ‘जात्रै जात्रा’ बारे औपचारिक जानकारी गराइएको हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने जात्रै जात्रामा विपिन र बर्षाका साथमा रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा र कविन्द्र त्रिपाठीको अभिनय रहनेछ ।

फिल्मका बारे बोल्दै लेखक तथा निर्देशक भट्टराईले फिल्मले पैसाको मात्र कथा नभन्ने बताए । उनले थपे, ‘यसपटक दर्शकले झनै विशेष सरप्राइज पाउनुहुनेछ’, उनले भने, ‘जात्रा सकिएको ठाउँबाट नै जात्रै जात्राको कथा उठ्नेछ ।’ कलाकार समेत रहेका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले राम्रो कथा पाएपछि मात्रै जात्रै जात्रा बनाउन लागेका खुलाए । ‘जात्राको भन्दा राम्रो कथा पाएपछि यसको सिक्वेल बनाउन लागेका हौ । फिल्मले दर्शकको आशालाई कम हुन दिदैन’, बानियाँले भने । यता फिल्मका मुख्य दुई पात्र बिपिन र बर्षाले जात्राको सिक्वेलमा जोडिन पाउँदा खुसी लागेको बताए । उनीहरुले यस पटकको फिल्मका कथा विशेष रहेको खुलाए ।

कात्तिक ११ गतेदेखि छायांकन सुरु हुने जात्रै जात्राको फागुन १७ गतेलाई प्रदर्शन मिति तय गरिएको छ । फिल्ममा निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् ।