फिल्म ‘कथा ७२’ ट्रेलर

लोकल सिनेमा ब्यानरमा बनेको ‘कथा ७२’ आउँदो मंसिर २८ गतेदेखि देशैभर प्रदर्शन हुने भएको छ । लोकल सिनेमाले ६ वटा फिल्मसहित कम्पनी सुरुवातको औपचारिक घोषणासँगै आफ्नो पहिलो फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा छनौट भई सहभागी भइसकेको फिल्म ‘कथा ७२’ आउँदो मंसिर २१ देखि सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल प्रिमियर हुँदैछ । त्यसलगतै मंसिर २८ देखि नेपाली फिल्म हलहरुमा प्रदर्शन गर्ने तयारी भएको हो । मौलिक कथावस्तुमा फिल्म निर्माण गर्ने अभियानका साथ लोकल सिनेमाले आफ्नो पहिलो प्रस्तुतिको रुपमा ‘कथा ७२’ प्रदर्शन गर्न लागेको हो ।

वि.सं २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको फिल्म ‘कथा ७२’ लाई प्रवीण स्याङ्बोले लेखन, निर्देशन गरेका हुन् । लोकल सिनेमा प्रा.लिको निर्माण तथा आइसफल प्रोडक्सन र दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलको सहकार्यमा निर्माण भएको यस फिल्मलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् । प्रदर्शन मिति तय भए संगै फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।