‘हर स्टोरी’ महिलाका ६ फिल्म प्रदर्शन

देशका विभिन्न १६ ओटा जिल्लाका २५ जना महिलाले निर्माण गरेका ६ छोटो अवधिका फिल्म प्रदर्शन गरिएको छ । महिलाका यथार्थपरक कथा महिलाहरूले नै भन्न सक्छन्, लेख्न सक्छन्, व्यक्त गर्न सक्छन् अनि अनुभुत गर्न सक्छन् भन्ने उद्देश्य सहित अकाउन्टविलिटी ल्याब नेपालको अनियन फिल्मसँगको सहकार्यमा सुरु गरिएको फिल्म निर्माण सम्बन्धि कार्यशाला ‘हर स्टोरी’ ले फिल्म क्षेत्रमा महिलाको कमजोर उपस्थिती छ भन्ने विद्यमान मान्यतालाई चुनौति दिने जमर्को गरेको छ ।

प्रारम्भिक चरणमा, सात दिनसम्म सञ्चालन भएको विशेष कार्यशालामा नेपाली फिल्म क्षेत्रका ख्याति प्राप्त विज्ञहरूले सहभागीहरूलाई फिल्म निर्माण सम्बन्धि प्रशिक्षण दिएका थिए । प्रशिक्षण कै क्रममा सहभागिहरूले फिल्म निर्माणसँगै जवाफदेहिता र महिलासँग जोडिएका मुद्दाको बारेमा छलफल पनि गरेका थिए । त्यस पश्चात सहभागिहरूले नै छनौट गरेका छ वटा विषयहरूको गहन अध्ययन अनुसन्धान र दृष्य सामाग्री संकलन गरी तिन महिनाको अवधिमा छोटो अवधिका तिन वृत्तचित्र र तिन फिल्म निर्माण गरेका थिए ।

महिलाहरूद्वारा नै महिलासँग जोडीएका मुद्दाहरूलाई उठान गरी निर्माण गरिएका फिल्म मध्ये “वेदना”ले गर्भवति महिलाले जागिरका लागि अन्तरवार्ताका क्रममा भोग्नुपरेको बिभेदको कथा बोल्छ । अर्को फिल्म “धर्को”ले एक जना महिला गैर कानुनी रुपमा वैदेशिक रोजगारीमा जाँदा आईपर्ने पीडाको यथार्थलाई चित्रण गर्छ । त्यसै गरेर, “दुर्गा”ले महिलामाथि समाजले निर्धारण गर्ने सामाजिक बन्देजको कथा बोल्छ । “६७४३ काउन्ट माई भोईस”ले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको भोगाईलाई उजागर गर्दछ भने “अ बोनस लाईफ” एक एचआईभि संक्रमित महिलाले देखाएको सहास अनि धैर्यताको कथा बोल्दछ र “पहिचान”ले समुदायमा आफ्नो पहिचान सहित स्थापित हुन संघर्षरत लैङ्गिक अल्पसंख्यकको यथार्थताको कथा बोल्छ ।

कार्यक्रममा बोल्दै आयोजक संस्था एकाउन्ट्याविलिटी ल्याबका प्रमुख नारायण अधिकारीले “मलाई विश्वास छ, चलचित्रको माध्यमबाट उजागर भएका महिलाका वास्तविक कथाहरूले राज्यलाई जवाफदेही बनाउने छ र सम्पुर्ण सहभागिहरूले अवसर र सहयोग पाए भने ति परिवर्तनका कथा बाहिर ल्याउने इच्छाशक्ति र सामथ्र्य पनि राख्दछन् ।” भन्ने बिचार ब्यक्त गरे ।

फिल्म प्रदर्शन पश्चात फिल्मले उठाएका मुद्दाहरूलाई केन्द्रमा राखेर विज्ञसँगको छलफल आयोजना गरिएको थियो । वक्तामा, एफएचआई ३६० का राष्ट्रिय निर्देशक, लेखक तथा समिक्षक विष्णु सापकोटा, वरिष्ठ चिकित्सक, लेखक तथा महिला अधिकारकर्मि अरुणा उप्रेती र वरीष्ठ पत्रकार एवं काठमाण्डौ ईन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) का निर्देशक राम्यता लिम्बु थिए ।

कार्यक्रममा अतिथि वक्ता अरुणा उप्रेतीले महिलाका आवाजलाई बाहिर ल्याउने उत्कृष्ट माध्यम फिल्म हो । महिला द्वारा निर्माण गरिएका सबै फिल्मले महिलाको वास्तविक कथा बोकेका छन् र यि फिल्मले लैङ्गिक अधिकारका मुद्दामा न्यायोचित वकालत गर्ने बताईन् ।

महिलाका समसामयिक मुद्दालाई उठान गरेर यस अघि कुनै वृत्तचित्र वा फिल्म निर्माण नभएका हैनन् तर, यस पटक महिलाले निर्माण गरेका वृत्तचित्र तथा फिल्मका सर्जक मात्र हैन पात्र अनि विषयवस्तुले पनि महिलाको प्रतिनिधित्व गरेको छ ।