पल शाह प्रकरणमा पुष्पले भने : हाम्रो हातमा केही छैन, यो गम्भीर विषय हो

अभिनेता पल शाहलाई जबरजस्ती करणीको मुद्दामा तनहुँ जिल्ला अदालतले हिजो थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

फिल्म क्षेत्रमा पल शाह र पुष्प खड्का राम्रो भविष्य कोर्दे अगाडी बढेका मध्यमा पर्छन् । दुबैले सँगै करिअर सुरु गरेका थिए।

पल पहिलो फिल्म ‘नाइ नभन्नु ल ४’बाट अभिनय क्षेत्रमा प्रवेश गरेका हुन् भने  पुष्प पहिलो फिल्म ‘दर्पण छाया २’बाट अभिनयको सुरु गरेका हुन् ।

पल जस्तै म्यूजिक भिडियोमा सफल मानिएका कलाकार हुन् पुष्प । फागुन १५ बाट पल तनहुँ प्रहरीको हिरासतमा छन् । यसै विषयमा पुष्प निकै अनुभवी देखिए पल प्रकरणमा टिप्पणी गर्दा।

आइतबार काठमाडौँको एक कार्यक्रममा प्रतिक्रिया दिने बेलामा उनी निकै संवेदनशील देखिए। पहिलो कुरा उनले पीडितबारे जानकार हुँदा पनि नाम नलिई गोपनीयता कायम गरे।

यस्तै उनी युट्युबवरले ‘ पलको विषयमा फिल्म क्षेत्रले केही निर्णायक निर्णय गरिदेओस् भन्ने लाग्दैन’ भन्ने निरर्थक प्रश्नमा फसेनन्। ‘ हाम्रो हातमा केही छैन। हामीले त भन्ने न हो। अब जे छ कानुनको हातमा छ’, उनले भने ।

पुष्पले दुवै जनाको भलो होस् भने। तर केसको प्रकृतिमा दुवैको भलो सम्भव छैन। उनले केस पनि बुझेका रहेछन्। त्यसैले त पहिल्यै ‘यो सेन्सेटिभ केस हो’ भने। अन्य कलाकारले अझै यसलाई गम्भीर रूपमा लिएको देखिएको छैन।

‘उहाँहरू बिच प्रेम भएको देखिन्छ। त्यो बिचमा कस्तो उतारचढाव आयो किन सम्बन्ध बिग्रियो त्यो उहाँहरूको व्यक्तिगत कुरा हो। दुवै निर्दोष साबित भइदियोस्। यही राम्रो’ उनले भने।

आरोपी र पीडित दुवैको राम्रो त कहाँ सम्भव छ र यो केसमा। मुद्दा गाली गलौचको हैन, नाबालिग बलात्कारको हो।

उनले यसलाई फिल्म क्षेत्रको लागि दुखद घटना भन्दै भने’ अब सबै कानुनको हातमा छ। यो बारे मौन बस्दा नै ठिक होला।’

पलविरुद्ध फागुन ११ मा एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । त्यसपछि फागुन १५ मा उनी आफैं प्रहरीसमक्ष पुगेका थिए । अनुसन्धानका लागि पहिले पाँच दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएपछि पुनः दोस्रोपटक १२ दिन म्याद लिएको हो ।