दशैंमा घर फर्किन नपाउँदाको पीडा पोख्दै पुष्पनले ल्याए ‘लाहुर’ गीत

गायक पुष्पन प्रधानको गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ । उनै, गायकले दशैं तिहारको अवसर पारेर ‘लाहुर’ बोलको गीत सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा सुशान्त गौतमको संगीत, सुशान्त र अनिल शर्माको शब्द छ ।

यो गीतले लाहुर गएको श्रीमान् र उसलाई कुरिरहेकी श्रीमतीको भाव र माया भनेको छ । दशैं तिहारमा घर जान नपाउने लाुहरेहरुको कथालाई गीतमा पुष्पनले सर्लक्कै टिपेका छन् ।

गीतको भिडियोलाई हरि हुमागाँइले निर्देशन गरेका हुन् । हरिले निर्देशन गरेका भिडियोमा जहिले पनि कथा भनिन्छ । यसपटक पनि उनले भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । जहाँ, थुप्रै संवाद पनि समावेश छ । भिडियोमा उत्तम हुमागाँइको छायांकन, हरिकै सम्पादन छ ।

भिडियोले तलब र पैसा भनेको समयमा पाइएतापनि बिदा नपाइने लाहुरेको पीडालाई वास्तविक रुपमा देखाएको छ । गीतको अडियो र भिडियो नै गज्जब छ । भिडियोमा कलाकार प्रकाश सपुत र रेश्मा घिमिरेलाई हेर्न सकिन्छ । प्रकाशले भिडियोमा लाहुरेको भूमिकामा अभिनय गरेका छन् ।