‘राजाको हात्ती’ बोलको गीत सार्वजनिक

काठमाडौं- विदुर तिमल्सिना ‘देवदूत’को ‘राजाको हात्ती’ बोलको गीत सार्वजनिक भएको छ । आइतबार मात्र सार्वजनिक भएको यो गीतमा उनले आफ्नो परिवारलाई छाडेर विदेश जानुपर्ने परिस्थितिलाई शब्दमा जीवन्त पारेका छन् । चार्डबाडको मुखमा श्रीमती छाडेर प्रवासी बन्नुपर्ने पीडा समेटिएको गीतलाई पुस्तक प्रसादले संगीत दिएका हुन् । गीतमा स्वर दिनेश गौतम र अनु सिंहको रहेको छ । गीतले परिवारसँग छुटेर आधा जिन्दगी बाँच्न नपरोस् कुरालाई मार्मिक हिसाबले अभिव्यक्त गरेको छ ।

सोही गीतमा श्रीमान् श्रीमतीको रुपममा मुकुन भुसाल र सृष्टि खड्काले अभिनय गरेका छन् । भिडियोलाई प्रिन्स डेनियलले निर्देशन गरेका हुन् भने वसन्त अधिकारी भिडियोको एसोसिएट निर्देशक हुन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भिडियोले मुना मदनको कथालाई अभिव्यक्त गर्ने प्रयास गरेको छ । गीत नयाँ नयाँ न्युज च्यानल नामको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।