दयाहाङलाई कुर्दै उपासना


नायिका उपासना सिंह ठकुरीले गतबर्ष २ वटा फिल्ममा काम गरिन् । यी मध्ये उनी अभिनित फिल्म ‘२ नम्बरी’ बक्स अफिसमा सुपरहिट भयो । तर, उनले नै अभिनय गरेको अर्को फिल्म ‘डिसेम्बर फल्स’ले बक्स अफिसमा पानी पनि भनेन । करिअरमा निकै चुजी देखिएकी उपासनाले फिल्म ‘हात्तीछाप’ मात्र साइन गरेकी छिन् ।

उसो त यो फिल्मको छायांकन बैशाखको अन्तिमबाटै हुनुपर्ने हो । तर, यो फिल्मका मुख्य २ नायक दयाहाङ राई र सौगात मल्ल यति व्यस्त छन् कि, फिल्मको छायांकन सुरु हुन सकेको छैन । फिल्मलाई असारको १० गतेबाट छायांकन गर्ने तयारी निर्माता किरण नेपालीको छ । 

उपासना पनि यही फिल्मको छायांकनको पर्खाइमा छिन् । श्रोतका अनुसार, उपासनालाई एक् चकलेटी नायकसँगको जोडीका लागि फिल्मको अफर आएको थियो । तर, उनले उक्त फिल्म नगर्ने बताइन् । यसैले, उपासनाको ध्यान यतिबेला दयाहाङ र सौगातमाथि नै छ । 

फिल्म क्षेत्रमा पछिल्लो समयमा सर्वाधिक व्यस्त नायकमा सौगात र दया नै पर्छन् । यसैले, निर्मातालाई यी दुइको समय मिलाउन हम्मे हम्मे परिरहेको छ । 

उपासनालाई दया र सौगात लक्की पनि देखिएका छन् । किनभने, उपासनाले अभिनय गरेको फिल्म ‘कबड्डी ३’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो, जसको मुख्य भूमिकामा नायक दयाहाङ नै थिए । यस्तै, फिल्म ‘२ नम्बरी’मा पनि दया र सौगात मुख्य भूमिकामा थिए ।

उपासनाका लागि दया र सौगात लक्की बनेसँगै उनका लागि ‘हात्तीछाप’ विशेष बनेको छ । सिमोस सुनवारले यो फिल्मको निर्देशन गर्दैछन् ।