रुचाइदै राज कटुवाल र सिर्जना खत्रीको ‘शिकारी नारी’

अभिनेता राज कटुवाल र गायिका सिर्जना खत्री (हाउडेमाया) ले अभिनय गरेको ‘शिकारी नारी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

हाल यो गीत युट्युबको टप ट्रेन्डिङमा पर्न सफल भएको छ । हालसम्म ७३ हजार ५ सय ९० ले हेरिसकेका छन् भने ४ सय ३० जनाले प्रतिकृया जनाएका छन् ।

सार्वजनिक गीतको स्वरमा सृजनालाई गायक प्रताप दासले साथ दिएका छन् भने शब्द र संगीत सृजना आफैले भरेकी छन् । भिडियोमा नरेशनाथ योगीको निर्देशन रहेको छ भने, प्रजित तामाङको छायाँकन र सम्पादन गरेका छन् । 

मैथिली भाषामा रहेको पुरुष स्वरको र्यापलाई पूर्णीमा शाहले मैथिलीमा अनुवाद गरेकी छन्। गीतमा लण्डनबाट नेपाल आएका युवा र युवतीबीचको कुराकानीलाई रोमाञ्चकरुपमा र्याप शैलीमा प्रस्तुत गरिएको छ।

गीतमा राज मैथिली पोसाक तथा नेपाली दौरा सुरुवालमा देखिएका छन्। सामाजिक सञ्जाल टिकटकमा समेत चर्चा बटुलिरहेको गीतलाई युवापुस्ताले बढी रुचाउने सम्भावना देखिन्छ।

फरक शैलीका गीत तथा र्यापका कारण चर्चामा आउने सिर्जनाको यसभन्दा अघि 'मेरो एक्सको छम्मा' बोलको र्याप गीत सार्वजनिक भएको थियो।

सिर्जनालाई ‘हाउडे माया’ उपनामले चिन्नेहरु धेरै छन्। ‘हाउडे माया’ चाहीँ गीतले दिएको नाम हो । यो उनको पहिलो गीत थियो। आफैंले शब्द, संगीत र स्वर भरेको उक्त गीतले उनलाई गायिका बनाइदिएको हो। त्यसपछि उनको ‘नौटकी माया’, ‘लाहुरे माया’ हुँदै ‘डबल माया’लाई दर्शकले असाध्यै रुचाएका छन् ।