विवाद चर्किएपछि सुरेश अधिकारीले मागे माफी

गीतकार एवं संगीत रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले आफुले प्रयोग गरेको अमर्यादित भाषाप्रति माफी मागेका छन् ।

गत साउन १ गते संगीतकार अधिकारीले रोयल्टी विवादलाई लिएर रेडियोकर्मीविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । जसमा केही ‘अमर्यादित’ शब्दहरु प्रयोग गरिएको थियो ।

उनले स्टाट्समा प्रयोग गरेको ‘अमर्यादित’ शब्दहरुप्रति आपत्ति जनाउँदै नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बीएएन) र सामुदायिक रेडियो प्रसारक संघ (अक्योराब) द्वारा नेपाल सरकारसँग आमसञ्चार गृहको सुरक्षाको माग गरेर संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

अधिकारीको शो अभिव्यक्तिपछि निजी तथा सामुदायिक एफ एम रेडियो सञ्चालकहरुका तीन संस्थाले उनका सबै गीतहरु बहिष्कार गर्ने घोषणा गरेका थिए । विवाद बढ्दै जाने देखेपछि अधिकारीले आफुले गरेको गल्तीमा क्षमायाचना गरेका हुन् ।

अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् ‘मैले कोही व्यक्ति वा कुनै संस्थालाई तोकेर आरोप, लाञ्छना वा आलोचना गरेको हैन । त्यो त एउटा स्रष्टाको रुपमा सङ्गीत रोयल्टीप्रति उहाँहरुका गलत धारणा र कार्यशैली प्रतिको आक्रोश मात्रै हो । तर मैले गरेको पोस्टले सङ्गीत रोयल्टीप्रति उदार रहनुभएका केही मैले सम्मान गर्ने व्यक्तित्वहरुलाई समेत त्यस आलोचनामा मुछिएको अनुभुति भएछ । जसले म आफैंलाई दुःखी तुल्याएको छ, आफ्नो पेशागत हकहितका लागि कृयाशील रहनु भएका वहाँहरुप्रति मेरो सदैव सम्मान र आदर छ । आवेगवश रुपमा प्रस्तुत मेरो शैली र मबाट व्यक्त भएका शब्दहरुले कोही–कसैलाई चित्त दुखेको छ वा आफ्नो ब्यक्तित्वलाई धमिल्याएको जस्तो लाग्छ भने म सम्बन्धित सबैमा विनम्रतापूर्वक क्षमायाचना गर्दछु ।’

उनले लेखेको पुरा स्टाटस् यस्तो छ ।

आदरणीय जनसमुदाय!
गत श्रावण एक गते मेरो फेसबुक वालमा पोष्ट गरेको सङ्गीत रोयल्टीको बिषयमा गलत धारणा बनाई रहेका केहि रेडियो सम्बध्द सङ्घ संस्थाका नेतृत्वसङ्ग बिमती राख्ने क्रममा उल्लेख भएका आम आलोचनात्मक शब्दहरु र आबेगबस प्रस्तुत खरो भाषा मैले कोहि कसैको ब्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने वा कुनै ब्यक्ती प्रती समाजमा घृणा र द्वेष फैलाउने उद्देष्यले ब्यक्त गरेका धारणा हैनन ।

कोहि कसै ब्यक्ती वा सँस्थालाई तोकेर आरोप लाञ्छना वा आलोचना पनि मैले गरेको छैन । त्यो त एउटा स्रष्टाको रुपमा सङ्गीत रोयल्टी प्रति वहाँहरुका गलत धारणा र कार्य शैलि प्रतीको आक्रोश मात्रै हो । तर त्यस पोष्टले आफुलाई लक्षित गरि एउटा सामाजिक ब्यक्तित्वबाट प्रयोग गरिएको आलोचनाका भाषा अमर्यादित र अशोभनिय रहेको भनी रेडियो सम्बध्द तीन सँस्थाहरुले जनाएको गम्भीर आपत्ति प्रती मेरो गहिरो ध्यानाकर्षण भएको छ । अझ सङ्गीत रोयल्टी प्रती उदार रहनु भएका केही मैले सम्मान गर्ने ब्यक्तित्वहरु समेत त्यस आलोचनामा मुछिएको अनुभुती गर्नुभएको कुराले म आफैंलाई पनि दुखि तुल्याएको छ । आफ्नो पेशागत हकहितको लागि सङ्गठित भएर कृयाशील रहनु भएका वहाँहरु प्रती ब्यक्तिगत रुपमा मेरो सदैब सम्मान,आदर छ र रहिरहने छ ।

यदि आबेशवस ब्यक्तिगत रुपमा प्रस्तुत मेरो शैली र मबाट ब्यक्त भएका शब्दहरुले कोहि कसैलाई चित्त दुखेको छ वा आफ्नो ब्यक्तित्वलाई धमिल्याएको छ भन्ने लाग्छ भने म सम्बन्धित सबैमा बिनम्रता पुर्वक क्षमा याचना गर्दछु । किन कि स्रष्टा सर्जक हुन या आम सञ्चारकर्मी हाम्रो कर्तब्य समाजलाई सभ्य बिनम्र र बिनयशील बनाउन प्रेरित गर्ने हो ।

हाम्रा व्यवहार र फेसबुक जस्तो सामाजिक सञ्जालमा ब्यक्त अभिव्यक्ति सन्तुलित सभ्य र शिष्ट रहे मात्र सभ्य समाजको निर्माणमा टेवा पुग्न जान्छ भन्ने कुरामा म आफू पनि सदैब सचेत रहदै आएको छु र भबिश्यमा पनि सचेत रहने कोसिस गर्ने छु । तर स्रष्टाहरुको कानुन प्रदत्त रोयल्टिको अधिकार र त्यसलाई ब्यबस्थित गर्न राज्यले निर्धारण गरेका कानुनी प्राबधान र त्यसको निम्ति गठित सँस्थाका अबमुल्यन अपमान र तिनका काम कार्वाहीहरुको बिषयमा वहाँहरुले आफ्नो क्षेत्राधिकार नाघेर राख्नु भएका गलत धारणा र समाजमा तिनका अभियान बिरुध्द फिजाउनु भएको भ्रम र दिनुभएको गलत सन्देश प्रति मेरो गम्भीर आपत्ती र असहमती कायमै रहेको र यस्ता गैर जिम्मेवार कृयाकलापले स्रष्टा अधिकारको अभियानमा पुग्न सक्ने गम्भीर क्षती तर्फ वहाँहरुलाई सम्बेदनशील र जिम्मेवार रुपमा प्रस्तुत हुन पनि बिनम्र अनुरोध गर्दछु ।

रेडियो टेलिभिजन र स्रष्टाकलाकारको आपसी अन्योन्याश्रीत सम्बन्ध सुधार गरि एक अर्काको गरिमामय भुमिकालाई राज्यमा स्थापित गर्न ठोस सहकार्य गर्न आफू आफ्नो स्थानबाट सदैब तत्पर रहेको र यस तर्फ समस्त रेडियो सम्बध्द सङ्घ सँस्थाहरु एककदम अगाडि बढेर रेडियो र स्रष्टाकलाकार को सामुहिक हितमा लागि पर्ने बिश्वास सहित बिनम्र आग्रह गर्दछु’ ।