सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए राजेश

‘हे दैव’ शीर्षकको साङ्गीतिक फिल्म सार्वजनिक भएको छ ।

साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले साङ्गीतिक फिल्म बनाएर सार्वजनिक गरेको हो । 

भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो फिल्म सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई भक्कानिए ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको कार्यक्रममा सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए । उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए । केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएनन् । परिवारको प्रतिनिधित्व पनि गायक राईले नै गरेका थिए ।

कार्यक्रममा कलाकार कविता आलेले आफूले सुरेशलाई कहिल्यै नभेटेको भएता पनि छायाङ्कनको क्रममा आफू छेउ आएको जस्तै भान भएको बताइन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका साङ्गीतिक सङ्घ नेपालका अध्यक्ष प्राज्ञ चेतन सापकोटाले वास्तविक कथालाई साङ्गीतिक चलचित्रमा उतार्नु जोखिमपूर्ण काम भएको तर निर्देशक यसमा सफल भएको बताए ।

सापकोटाले भिडियो मार्फत आफ्नो सन्तान गुमाउन पर्दा परिवारलाई परेको आघातलाई जस्ताको त्यस्तै उतारेर समाजमा ठुलो सन्देश छोडेको बताए ।

यस साङ्गीतिक फिल्मको गीतमा शब्द रचना विक्रम साङ्पाङको रहेको छ भने सङ्गीत शङ्कर थापा 'स्माइल'को रहेको छ । यसमा राजेश पायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर रहेको छ ।

यस फिल्मलाई देव जङ्ग थापाले निर्देशन गरेका छन् । यसमा माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिशा राई, रजनी गुरुङ, अनिल सुब्बा, दिप्सन आङ्बो र धनु ग्याङ्मीको अभिनय रहेको छ । सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्मा हुन् भने सम्पादक विवेक उप्रेती हुन् ।