‘पञ्चमी मेला’ : बजारमा भेट भएका युवा युवतीको प्रेम कथा

आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ।

गाउँ वा शहरका सांस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत पाँचथरको पञ्चमी बजारको कथा भनेको छ।

‘मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलो पटक साथीहरू बनेका यही पञ्चमीका हुन्। पहिलो पटक भिडियोमा फिल्म हेर्न पाएको पञ्चमी बजारमा हो।  पहिलो हाट बजार भरेको अनुभव यही पञ्चमीको छ,’ भिडियो सार्वजनिक गर्दै निर्देशक नवीन चौहानले सम्झिएका छन्।

करिब ८ मिनेटको म्युजिकल फिल्ममा पञ्चमी बजारमा पाँचथरका युवक र सिमी बेच्न आएकी इलामकी युवतीको भेट हुन्छ। भेटमा युवतीसँग आकर्षित भएका युवक छोरी माग्न घरसम्म पुग्छन्। दुईबीचको प्रेममार्फत भिडियोमा बजारको सौन्दर्य र पूर्वको स्वाद पस्किएको छ। ‘तिथिमा लाग्ने यो बजारमा भेट भएका कति युवायुवतीको विवाह भएर घरजम नै भएको छ। बिडम्बना अहिले यो बजार धेरै उजाडिएको छ,’ नवीन भन्छन्।  

गीतमा गायिका अञ्जु पन्त र गायक भुषण खतिवडाले स्वर दिएका छन्। गीतकार हर्क साउदले शब्द कोरेको गीतमा भुषणकै कम्पोजिसन छ।

भिडियोमा मिलन खत्री, चन्दा ढुंगाना, अन्वेश थुलुङ राई, ओम कार्की, नरेन्द्र बस्नेत, केदीप बस्नेत लगायतको अभिनय छ। भिडियोमालाई योगेश ढकालले खिचेका छन्, भने नवीन र  केर कोइँच लिनुचले निर्देशन गरेका छन्।

यसअघि आर्टमान्डूका पाहुना हजुर, फूलथुंगे रानी, तीनपाते, घुमीघुमी, चन्द्रमा, के माया लाग्छ र लगायत अधिकांश भिडियो लोकप्रिय छन्। अहिले आर्टमान्डू फिल्म ‘ऊनको स्वीटर’ निर्माण तयारीमा छ।