किन चर्चामा छ ‘बोक्सीको घर’को ‘वुझिनँ मैले’ बोलको गीत ?

एउटा कलाकारका लागि अनुहार र आँखा भाव तथा शारीरिक हाउभाउ महत्वपूर्ण छ । चाहे यो अभिनयका लागि होस् या नृत्यकै लागि । अभिनेत्री केकी अधिकारी यी दुवै कुरामा अब्बल छिन् । केकी यतिबेला फिल्म ‘बोक्सीको घर’का कारण चर्चामा छिन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’ पछि उनले निर्माण गरेको यो दोस्रो फिल्म हो ।

फिल्मको सार्वजनिक पछिल्लो गीत ‘बुझिनँ मैले’ सबैको चासोको विषय बनेको छ । गीतमा समीक्षा अधिकारीको स्वर र प्रकाश सपुतको शब्द तथा संगीत छ । गीतको भिडियोमा केकी, फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती र चरित्र अभिनेत्री रमा थपलिया फिचर्ड छिन् ।
 
उनीहरुबाहेक बालिका र कोरस पनि छन् । गीतमा केकीका तीन भाव खुशी, डर र आक्रोश प्रष्ट देखिन्छ । गीतको सुरुवातमा एक विवाहित युवतीका लागि सिउँदोमा सिन्दुर र गलामा पोतेले दिएको खुशी देखाइएको छ । त्यस्तै धोती र चोली तथा घुम्टो र डोलीका युवतीका लागि कतिको खुशीका कुरा हुन् भन्ने अथ्र्याइएको छ । यति हुँदा हुँदै पनि आफू कसरी बाँधिएँ भन्ने कुरा बुझ्न नसकेको गीतमा भाव प्रकट गरिएको छ ।

गीतमा केकीको अनुहार र आँखाको भावसँगै शारीरिक हाउभाउले गीतको भावलाई मर्न दिएको छैन । केकीले नृत्य गरेका अन्य गीतभन्दा ‘बुझिनँ मैले’ अहिलेसम्मकै पृथक गीत हो । गीतमा खुशी हुँदा र दुःखी हुँदाको आक्रोश उनमा उत्तिकै देखिन्छ । अभिनेत्री उमा र फिल्मका लेखक तथा निर्देशक सुलक्षणको दृश्य देखाइरहँदा केकीमा खुशी र दुःख किन छ भन्ने बुझ्न सकिन्छ ।

गीतमा एउटा महिलालाई समाजले गर्ने तारिफ र घृणा शब्दको वाणले गर्ने गरेको झल्काइएको छ । गीतमा प्रयोग भएका ‘राम्री’, ‘बोक्सी’ जस्ता शब्दले पनि महिलाप्रति समाजले हेर्ने दृष्टिकोणलाई देखाएको छ । पितृसत्तात्मक समाजमा महिलालाई केही भएमा पुरुषको नजरले कसरी हेर्छ भन्ने कुरा प्रकाशमार्फत बुझाइएको छ । गीतमा प्रयोग भएको ‘आकाशै बधु’, ‘पातालै बधु’, ‘भूतप्रेत बधु’, ‘डंकनी बधु’ ‘पिसाचै बधु’ शब्ले गाउँमा धामीझाक्रीको चरित्रलाई बुझाएको छ । यही शब्द अनुसार दृश्यमा सुलक्षण राती राँको बालेर केही खोज्न हिँडेको देखाइएको छ ।

कोरियोग्राफर सुनील क्षेत्रीले केकीलाई प्रष्ट रुपमा प्रस्तुत गरेका छन् । खुशी, पीडा र आक्रोशलाई देखाउन केकी र सुनीलको मेहनत देख्न सकिन्छ । अभिनेत्री रमा थपलियाको अनुहार र आँखाको भावले पनि केकी प्रति उनको दृष्टिकोण र बुझाई प्रष्ट झल्किन्छ । उमाको शंकालु नजरलाई गीतमा देखाइएको छ । गीतमा अभिनय गरेका बालबालिकाले समग्र महिलाको प्रतिनिधित्व गरेका छन् ।

प्रकाशको संगीत भएकाले पनि उनको फ्लेभर प्रष्ट बुझ्न सकिन्छ । यस्तो फ्लेभर प्रकाशले आफ्ना सिर्जनामा कहीँ कतै दिइरहेका हुन्छन् । गायिका समीक्षाले पनि गीतको शब्द र भाव अनुसार स्वरमा न्याय दिएकी छन् । गीतको भिडियोमा प्रयोग गरिएका स्रोत साधन हेर्दा भिडियो मेकिङमा कुनै कञ्जुस्याइँ गरिएको छैन । भाव अनुसार नै दृश्य खिचिएका छन् ।