बोर्डमा छैन हिन्दी फिल्मका लागि निवेदन, अध्यक्ष भन्छन्–‘नियम अनुसार गर्छु’

भोलि बिहिबारबाट रिलिजमा आउन लागेका दुई बलिउड फिल्म ‘बडे मियाँ छोटे मियाँ र मैदान’को सेन्सर अनुमतिका लागि मंगलबारसम्म विकास बोर्डमा कुनै पनि निवेदन परेको छैन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले मंगलबारसम्म बोर्डमा कुनै निवेदन नपरेको बताए । 

यदि आज बुधबार निवेदन परेको खण्डमा यी दुबै फिल्मको सेन्सर अनुमति शनिबार अगाडि दिन मिल्दैन । बोर्ड अध्यक्ष केसीले भने–‘हामीले कुनै पनि फिल्मको सेन्सरका लागि ४ दिन अगाडि कागजपत्र पेश गर्नुपर्ने नियम बनाएका छौं । यो नियम सबै फिल्मका लागि लागू हुन्छ । हामी नियम अनुसार नै गर्छौ ।’

भोलि बिहिबारबाट रिलिज हुने हिन्दी फिल्मका लागि शो छुट्याउनुपर्ने भएको जानकारी दिँदै क्यूएफएक्सको टिमले शुक्रबारबाट रिलिजमा आउन लागेको फिल्म ‘रेड सुुटेकस’लाई उपयुक्त शो दिन नसक्ने बताएको  थियो ।

तर, अब भारतमा बिहिबारबाट रिलिज हुन लागेका दुई हिन्दी फिल्म यदि कुनै वितरकले नेपाल ल्याउन चाहेको खण्डमा शनिबार अगाडि रिलिज गर्न पाउने छैनन् । यसैले, यी दुई हिन्दी फिल्म नेपाल भित्राउनुको कुनै अर्थ नरहने देखिएको छ । 

शुक्रबारबाट नयाँ नेपाली फिल्महरू ‘डिग्री माइला र रेड सुटकेस’ रिलिजमा आउँदैछन् । साथै, फिल्म ‘महाजात्रा’ले पनि बक्स अफिसमा लोभलाग्दो व्यापार जारी राखेको छ । यही कारणले, यस बर्षको नयाँ बर्षमा नेपाली फिल्मकै दबदबा रहने देखिएको छ ।