२२ दिनमा सकियो आँचल र उषाको ‘एक मुठ्ठी बादल’को छायांकन

फिल्म ‘एक मुठ्ठी बादल’को छायांकन सकिएको छ । बहुसंख्यक महिला युनिटको संलग्नता रहेको यो फिल्मको छायांकन पोखराको लामा चौरमा २२ दिन लगाएर गरिएको थियो । 

साहारा शर्माको लेखन तथा निर्देशन रहेको यो फिल्ममा अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमिल्सिनाको संयुक्त निर्माण छ । फिल्मका कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन् ।

गौंथली इन्टरटेन्मेन्ट, मन प्रोडक्शन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको यो फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाँई, मनिष निरौला, गौरव बिष्ट, सहयोग राज अधिकारी, अविरल प्रताप अधिकारी लगायतका कलाकारको अभिनय छ । 

यो फिल्मको छायांकन नारी दिवसको दिनबाट गरिएको थियो । निर्देशक सहारा शर्माले फिल्मको निर्माण अप्ठ्यारो र चुनौतीपूर्ण रहेपनि सिकाइका हिसाबले उपलब्धिपूर्ण भएको बताइन् । उनले भनिन्–‘के भइरहेको थियो भोग्दा मात्र थाहा हुन्थ्यो, तर म प्राविधिक टिम र कलाकारको मप्रतिको भरोसा र अथक मिहिनेतका लागि आभारी छु ।’

फिल्म खिच्नका लागि भियतनामबाट नेपाल आएकी २८ बर्षकी लिन ड्यानले खराब मौसम र भाषाको समस्याका बीच पनि नेपालको लाइटिङ र क्यामेरा क्रुको परिश्रमले सुटिङ समयमै सकिएको बताइन् । 

डक्सकुल र प्लान इन्टरनेशनल नेपालले  सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा फिल्मीकर्मीहरु भित्रको महत्वपूर्ण लैङ्गिक असमानतालाई बाहिर ल्याएको थियो । नेपाली फिल्ममा १० प्रतिशतभन्दा कम महिलाहरूले फिल्म निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

यही कुरालाई मध्यनजर राख्दै यो फिल्मका अधिकांश विधामा महिलाहरूलाई सहभागी गराइएको छ ।