‘महाजात्रा’लाई फाप्यो नयाँ बर्ष

फिल्म ‘जारी’को रेकर्डलाई तोड्ने दौडमा देखिएको फिल्म ‘महाजात्रा’ले नयाँ बर्षको दिनमा पनि बम्पर कमाई गरेको छ । वैशाख १ गते फिल्मले पाएको सबै जसो शोमा दर्शकको उच्च चाप देखिएको थियो । फिल्मका निर्देशक प्रदीप भट्टराईले दर्शकले टिकट नपाएको भन्दै दुख लागेको बताए । षट्कोण आर्टसले निर्माण गरेको यो फिल्मप्रति दर्शकको क्रेज चौथो हप्तामा पनि उत्साहजनक देखिएको छ ।

फिल्मका निर्देशक प्रदीप भट्टराईले दर्शकबाट पाएको मायालाई शब्दमा बयान गर्न नसकिने तर्क गरे । उनले, आफूहरूले नै बनाएको अघिल्ला फिल्मका सबै रेकर्ड तोडिएको जानकारी दिए । यो फिल्मले तीन सातामा नेपाल बाहिर ९ करोड ग्रस कलेक्शन गरेको छ । फिल्मले तीन सातामा नेपालबाट १४ करोड ग्रस कलेक्शन गरेको बताइएको छ । विश्व बजारबाट यो फिल्मले २३ करोड माथि कमाइसकेको छ ।

चौथो सातामा शुक्रबार र शनिबारको व्यापारले फिल्मको व्यापार १५ करोड माथि पुगिसकेको निर्माणपक्षले उल्लेख गरेको छ । वितरकका अनुसार, शनिबार यो फिल्मको काठमाडौंमा ६० र मोफसलमा ८० शोज थियो । सबै शोजहरुमा दर्शकको उच्च अकुपेन्सी देखिएको थियो । यो फिल्मको आजका शोजमा पनि दर्शकको चाप उत्साहजनक छ । 

हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारले अभिनय गरेको फिल्मलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।