वितरकको दाबी–‘डिग्री माइलाले २ दिनमा ३ करोड कमायो’

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘डिग्री माइला’ले २ दिनमा ३ करोड ६ लाखको ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले बताएका छन् । यो फिल्मले पहिलो दिन ९८ लाख र दोस्रो दिन २ करोड ८ लाखको ग्रस कलेक्शन गरेको दाबी शाहीको छ ।

तेस्रो दिन पनि फिल्मको अकुपेन्सी सुखद रहेकाले व्यापारिक आँकडा राम्रो आउने गोविन्दले बताए । फिल्मका निर्माता मणिराम पोखरेलले दर्शकको वर्ड अफ माउथ सुखद आएकाले गर्दा पनि व्यापार राम्रो भएको हो । यो फिल्मले विदेशी बजारमा पनि राम्रो कमाई गरिरहेको बताइएको छ । 

दयाहाङ राई, आँचल शर्मा, वुद्दि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

गुरुङको निर्देशनमा तयार भएको पछिल्लो फिल्म ‘फूलबारी’ले औषत व्यापार गरेको थियो भने ‘कबड्डी ४’ ले २२ करोडको ऐतिहासिक व्यापारिक रेकर्ड राखेको थियो । विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ यो फिल्मका निर्माता हुन् ।

क्रिस लामा कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठ तथा राइली एस सिनको छायांकन छ ।