काम गर्ने शैली बदल्दै दया, स्क्रिप्ट चित्त नवुझी छायांकनमा नजाने

गतबर्ष नायक दयाहाङ राईले अभिनय गरेका ९ वटा फिल्म रिलिजमा आए । जसमा ३ वटा फिल्म चल्दा ५ वटा असफल भए । ‘डिग्री माइला’ भने हिट हुने बाटोमा छ । 

दयाले अभिनय गरेका फिल्म मात्र होइन, छायांकन गरेका फिल्मको लाइनअप पनि लामो छ । तर, दयालाई पैसा मुखी भएको आरोप लाग्दै आएको छ । 
तर, अब दयाले काम गर्ने शैली बदल्ने भएका छन् । नायक राईले अब स्क्रिप्ट चित्त नवुझेसम्म फिल्मको छायांकन नगर्ने तयारी गरेका छन् । यसकारण, यो बर्ष दयाले साइन गरेका धेरै फिल्मको छायांकन समयमै सुरु नहुने देखिन्छ । 

दया यतिबेला फिल्म ‘कार्साङ’को छायांकनमा व्यस्त हुनुपर्ने हो । तर, फिल्मको कथावस्तु उत्कृष्ट भएपनि पटकथा र संवादमा अझै केही कुरा चित्त नवुझेकाले दयाले फिल्मको छायांकन सुरु गर्न मानिरहेका छैनन् । यहीकारण, यो फिल्मको छायांकन चैत्रमा सुरु हुने भनिए पनि हुन सकेको छैन । 

यी बाहेक अरु फिल्मका कथावस्तुमा पनि दयाले अब विशेष ध्यान दिन थालेका छन् । आफूले धेरै फिल्ममा काम गरिरहेको कुरा दयाले मज्जाले बुझेका छन् । तर, गतबर्ष यी कुरालाई वेवास्ता गर्दै उनले धमाधम काम गरिरहेका थिए ।

तर, यो बर्षबाट भने उनी स्क्रिप्टमा गम्भीर बन्न थालेको वुझिएको छ । 

दयाको काम गर्ने शैली परिवर्तन भएपछि अब निर्देशक र लेखकलाई केही दबाब बढ्नेछ । तर, यसले दर्शकले दयाका राम्रा फिल्म भने हेर्न पाउनेछन् ।