‘भाइरल गोर्खे’मा सौगात र श्रृष्टीको जोडी, भोलिबाट छायांकन सुरु

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ फिल्म ‘राधा’पछि फेरि एकसाथ फिल्ममा काम गर्ने भएका छन् । भोलिबाट छायांकनमा जान लागेको फिल्म ‘भाइरल गोर्खे’मा सौगात र श्रृष्टीको जोडीलाई पर्दामा देखाउन लागिएको हो । 

सामाजिक विषयवस्तुका साथै कमेडी कथामा निर्माण हुन लागेको यो फिल्मको छायांकन गोरखामा नै गरिनेछ । फिल्ममा बुद्धि तामाङको पनि मुख्य भूमिका रहनेछ । 

निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा दुई राँगामाथि सौगात मल्ललाई उभिएको देख्न सकिन्छ । यसले पनि, सौगातको भूमिका कस्तो हुनेछ भन्ने अनुमान लगाउन सकिन्छ । 

फिल्म ‘भाइरल गोर्खे’लाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् । द जीएमआई एकेडेमी र निरभाना फिल्म स्कुलको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहनेछ । 

फिल्मको कामका लागि नायक सौगात मल्ल गोरखा पुगिसकेको निर्माणपक्षले बताएको छ ।