सिड्नीमा ‘महाजात्रा’ले तोड्यो ‘जात्रा’को रेकर्ड

नेपालमा बम्पर व्यापार गरिरहेको फिल्म ‘महाजात्रा’ले अष्ट्रेलियाको सिड्नीमा नयाँ रेकर्ड बनाएको छ । यो फिल्मले सिड्नीमा यसअघि ‘जात्रै जात्रा’ले बनाएको २७ शोको रेकर्डलाई तोडेको हो । फिल्म ‘महाजात्रा’को अप्रिल १५ मा सिड्नीमा २८ औं शो भएको वितरकले बताएका छन् । 

यस्तै, फिल्मले अष्ट्रेलियामा बनाएको रेकर्ड आउँदो शनिबारसम्म तोडिने डायस्पोरा वितरक कम्पनी एमएसएस इन्टरटेन्मेन्ट्स र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङले जनाएको छ । 

यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाले छिट्टै सम्पूर्ण देशको शो संख्या र व्यापारिक आँकडा सार्वजनिक गर्ने बताए । नेपालमा पनि यो फिल्मले १५ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन् । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यो फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । 

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।