पछिको मीठो भन्न खोजेकी रक्षाले सत्यतालाई नकार्न सकिनन् !

पौषको २७ गतेबाट फिल्म ‘पर्खी बसे तिमीलाई’ रिलिज हुँदै छ । दीपक श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा  किरण श्रेष्ठ, रक्षा बुढाथोकी र अनिसा रसाइलीले मुख्य भूमिका रहेको छ । 

फिल्मले धनाढ्य परिवारकी छोरी र पठाओ चलाएर जीवन चलाउँदै आएको एक युवाको प्रेम कथा प्रस्तुत गर्छ ।

यो फिल्मका कलाकार मध्य एक रहेकी रक्षा बुढाथोकीका लागि फिल्म चल्नै पर्ने दबाब छ । फिल्ममा निर्माता बनेका उनका पिता राजाराम बुढाथोकीले छोरीलाई ‘हिरोइन’ बनाउन करोडौं दाउमा लगाएका छन् । रक्षालाई हिरोइन बनाउन पिताले करोड रूपैयाँ दाउमा राखेसँगै एउटा कुरा देखिएको छ भने, उनै रक्षाले आफूलाई नव–अभिनेत्री भनेर परिचय दिन खोजी रहेकी छिन् ।

फिल्मको लागि प्रचारमा दौडिएकी रक्षाले केही समय अघि आफू पढेको स्कुल पुगेर पहिलो फिल्म भएता पनि सक्दो मेहनत गरेको बताएकी थिइन् । यता मिडियामै आएका अन्तरवार्ता दिँदा पनि आफूलाई नव–अभिनेत्री भनेर भजाइरहेको देखिन्छ ।

रक्षा नव–अभिनेत्री भने होइनन् । उनले यसअघि फिल्म ‘लाखे’मा सहायक अभिनेत्रीको रूपमा काम गरिसकेकी छन् । अघिको तीतो पछिको मीठो भन्न खोजेकी रक्षाका लागि केही मिडियामा नव–अभिनेत्री भने पनि सत्यतालाई नकार्न भने सकिँदैन भन्ने भएपछि अहिले आएर बोलेका शब्द सच्याउन प्रयास गर्दै मुख्य अभिनेत्रीमा यो मेरो पहिलो हो भन्न थालेकी छिन् ।

शनिबार काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा रक्षाले भनिन्, 'मेरो अभिनयका हिसाबले दोस्रो भएता पनि मुख्य भूमिका निर्वाह गरेको पहिलो फिल्म हो । बाल्यकालदेखि नै गीतमा नृत्य गर्ने, अभिनयको अभ्यास गर्ने गर्थे । तर, स्कुल जीवन सकिएपछि यसमा नै भविष्य बनाउने निर्णय लिए । त्यहीँ अनुरूप सुरु गरेकी हुँ ।'

यो सँगै रक्षाले पिताको बचाउ पनि गर्न भ्याएकी छिन् । उनले भनिन्, 'उहाँले मेरो रहर देखेर लगानी गर्नुभएको होइन । मेरो प्रतिभालाई उहाँले देख्नुभएको छ । छोरीका लागि लगानी गरेको भनेर बाहिर हल्ला मैले पनि सुनेकी छु । तर उहाँले मेरो प्रतिभाको सम्मान गर्न लगानी गर्नुभएको हो ।'

जे होस्, रक्षाकालागि यो फिल्मबाट प्रमाणित गर्नुपर्ने चुनौती थपिएको छ । एक हिसाबले उनका लागि ‘पर्खि बसेँ तिमीलाई’बाट नव–अभिनेत्रीको परीक्षा दिनु पर्ने छ । उनले भोलिका दिनमा अघिको तीतो पछिको मीठो भन्नु न परोस् ।