‘झिल्को’ले वर्षा सिवाकोटीलाई राहत

फिल्म ‘परदेशी २’ हिट भएपनि नायिका वर्षा सिवाकोटीलाई केही फाइदा भएन । उनलाई नेपाली फिल्मका नाम चलेका मेकरले पत्याएका छैनन् । उनले, फिल्म ‘काजी’ साइन गरेको ‘परदेशी २’ रिलिज अगाडि नै हो । यसैले, यो वर्षकै हिट फिल्मको व्यापारले निर्माता मालामाल भए, वर्षालाई कुनै असर परेन । 

यो फिल्म चलेपछि पनि वर्षालाई नेपालका नाम चलेका मेकरले पत्याएका छैनन् । तर, अब भने उनलाई केही राहत मिलेको छ । फिल्म ‘झोला’ निर्देशन गरेका निर्देशक यादवकुमार भट्टराईले बनाउन लागेको नयाँ फिल्म ‘झिल्को’मा वर्षाले काम गर्दैछिन् । यो फिल्मको भोलि शुभसाइत गर्दै छायांकन गर्ने तयारी निर्माणपक्षको छ । 

फिल्ममा नाट्यकर्मी सुनील पोखरेल र कलाकार विशाल पोखरेलको पनि मुख्य भूमिका रहनेछ । 

यो फिल्ममा वर्षाको भूमिका के हो भन्ने खुलेको छैन । तर, उनले नयाँ फिल्म साइन भने गरेकी छिन् । यसले, उनलाई पनि खुशी दिएको हुनुपर्छ । 

नेपाली फिल्मका केही नायिकाहरू धमाधम काम गरिरहँदा केही नायिकाहरू भने कामको अभावमा छटपटिरहेका छन् । अब, वर्षालाई ‘झिल्को’ले केही समय व्यस्त राख्ने निश्चित छ ।