स्टारहरुमाथि जहिले आक्रोशित मिलन चाम्स


मिलन चाम्सलाई औसत फिल्म बनाएर हल्ला बढी गर्ने निर्देशकको रुपमा धेरैले  चिन्छन् । उनले, बनाएका फिल्महरू औसत हुन्छन् तर उनी त्यसको प्रचार बेजोड गर्छन् । फिल्मको घोषणादेखि रिलिजसम्मका कार्यक्रममा बेलुन र बाजागाजा उनका लागि सामान्य जस्तै हुन् । 

उनै, चाम्स नेपाली फिल्मका स्टारहरूमाथि भने सधैं आक्रोशित र रूखो देखिन्छन् । बिहिबार आयोजित फिल्म ‘गोर्खा वारियर’को पत्रकार सम्मेलनमा पनि उनी आफ्ना नव–नायक रितेश चाम्सको प्रशंसा गर्दै गर्दा स्टारहरूमाथि खनिए । 

उनले फिल्ममा रितेश नै किन भन्ने प्रश्नमा स्टारहरुहरुमाथि आक्रोश पोख्दै भने–‘मैले त अनुभव गरेको छु नी । सुटिङ हुँदा बाथरुममा गएर सोसल मिडियामा नै हराउने स्टारहरू पनि यहाँ छन् । वार जनराको फिल्ममा त कलाकारको धैर्यता चाहिन्छ, त्यस्तो धैर्य गर्न सक्ने को छ हाम्रामा कलाकार ?’

उनले आफूले बनाएको फिल्म ‘गोर्खा वारियर’ले वास्तविक युद्धको दृश्य देखाएको भन्दै यस्तो युद्ध गर्न सक्ने कलाकार अरु कोही छ जस्तो नलागेको र रितेशलाई आफूले खोजी खोजी निकालेको दाबी गरे । 

मिलनले सुपरस्टारहरुप्रति कटाक्ष गर्दै आफ्नो फिल्मका नव–नायक रितेशको खुलेरै प्रशंसा गरे । उसो त, मिलनको स्टारहरुप्रतिको आक्रोश पहिलो पटक होइन । 

नायक अनमोल केसीलाई फिल्म ‘ब्याचलर बन्टी’मा संझौता गरेर पनि फिल्म बनेन । यसपछि, मिलन अनमोलसँग चिढिएका छन् । यता, नायक पल शाहसँग फिल्म ‘वीर विक्रम २’मा काम गरेपछि मिलनको सम्बन्ध विग्रीएको छ । यस्तै, फिल्म ‘लिलिबिली र लभ स्टेशन’मा काम गरेपछि प्रदीप खड्कासँग पनि मिलनको सम्बन्ध बिग्रियो । फिल्म ‘वर एण्ड वधु’मा उनले आँचललाई लिएर काम गरे, तर फिल्म पूर्ण नै हुन सकेन । 

स्टारहरूसँग मिलनको सम्बन्ध सुमधुर छैन । यसैले, उनी स्टारहरूमाथि बारम्बार आक्रोश पोखिरहन्छन् । यसपटक पनि उनले आफ्ना हिरोको प्रशंसा गर्दा स्टारहरुमाथिको आक्रोश पोख्न छाडेनन् ।