यी अभिनेताले अमिताभलाई किन ‘कायर’ भने ?

भारतीय अभिनेता प्रकाश राजले अमिताभको नियतमाथि प्रश्न उठाउँदै उनलाई ‘कायर’ भनेका छन् । काश्मिरको कठुआमा भएको सामुहिक बलत्कारको बारेमा मौन रहेकाले प्रकाशले उनलाई कायर भनेका छन् ।

कठुवामा सामुहिक बलत्कारपछि ८ वर्षकी बालिकाको हत्या गरिएको थियो । त्यो घटनाले सिंगो भारतलाई तताएको थियो । थुप्रै सेलिब्रिटीहरुले यस घटनाको भत्सना गरे । तर, अमिताभले भने केहि पनि अभिव्यक्ति दिएनन्, जबकी उनी सामाजिक सञ्जालमा अत्यधिक सक्रिय छन् ।

एक ठाउँमा पत्रकारहरुले घटनाबारे उनको धारणा माग्दा समेत ‘यस्ता कुरामा प्रतिक्रिया दिन घिन लाग्छ’ भन्दै पन्छिए । अमिताभको यस्तो व्यवहारको सामाजिक सञ्जालमा पनि आलोचना भएको थियो ।

प्रकाश राजलाई अमिताभ बच्चनको मौनताबारे एक कार्यक्रममा पत्रकारले प्रश्न गरेका थिए । उनले जवाफ दिए, ‘म उनको धेरै सम्मान गर्छु । तर यो विषयमा केही पनि नबोल्नु भनेको कायरता हो । अमिताभले यसमा बोल्नैपर्थ्यो ।’