‘क्या माल छ !’ अनु मलिक

बलिउडमा #मि_टु क्याम्पियन चलेको छ ।  चर्चित संगीतकार अनु मलिकमाथि पनि यौन हिंसा गरेको आरोप लागेको छ । ४२ वर्षीया गायिका सोना महापात्राले मलिकले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । अनु मलिकले आफूलाई अबेर रातमा पनि लगातार फोन गर्ने गरेको बताएकी छन् ।

सोनाको अनु मलिकसँग २००६ मा एउटा कार्यक्रममा पहिलो पटक भेट भएको थियो । उनले भनिन्, ‘उनले मलाई र मेरो श्रीमान राम सम्पतलाई लन्चका लागि आईटीसी ग्र्याण्ड मराठामा बोलाएका थिए । मेरो श्रीमानसँग उनी पहिले नै काम गरिसकेका थिए । उनलाई हाम्रो विवाह भएको थाहा थिएन । भेटघाटकै क्रममा म रेस्ट रुममा गएँ । त्यतिबेला अनु मलिकले एउटा भद्धा टिप्पणी गरे – क्या माल छ सम्पत ।’ सोनाका अनुसार त्यसपछि पनि अनु मलिकले रातिराति फोन गरेर अचम्मका कुरा गर्थे । अनु मलिकले भने यो आरोपमा बोल्न अस्वीकार गरेका छन् ।

यसभन्दा पहिले पनि सोनाले कैलाश खेरमाथि यस्तै आरोप लगाएकी थिइन् । ट्विटरमा उनले लेखेकी थिइन्, “एकपटक म कैलाश खेरसँग एउटा कन्सर्टको तयारीका लागि मुम्बईको पृथ्वी क्याफेमा गएको थिएँ । त्यतिबेला उनले मेरो तिघ्रामा हात राख्दै भनेका थिए, ‘तिमी निकै नै सुन्दर छौ । राम्रो भयो कि कुनै अभिनेताले नभएर एउटा संगीतकारले तिमीलाई पायो ।’ यो सब सुनेपछि म त्यहाँबाट निस्केँ ।”