समालोचकले खोइरो खनेका मास्टर फिल्म निर्देशक फेलिनी

- मेराेफिल्म

सन् १९९३ मा इटालियन फिल्म निर्देशक फेडरिको फेलिनीको मृत्यु हुनु पूर्वनै उनले अन्तरराष्ट्रिय विधामा चार अस्कर अवार्ड जितिसकेका थिए । उनको देहान्त भएको २७ वर्ष पछि पनि उनको विरासतको छायाँ, उनले पाएको सम्मान र अवार्ड भन्दा माथी नै रहेको छ । जे भए पनि, मास्टर निर्देशकको दर्शन उनको फिल्ममा यति सम्म सम्मोहन गर्ने खालका थिए कि यसले आफ्नो – कार्निभल (मेला) भन्ने अंग्रेजी ब्याकरणको शब्द,नाम भए पनि यसलाई विशेषण फेलिनीस्के’ मा परिणत गर्यो । उनका चलचित्रहरूले नयाँ फिल्म निर्माताहरुलाई फिल्ममा कसरी नौलो प्रयोग गर्ने, अनि कसरी चित्रका अनौंठा उडानहरूको साथ स्विकारिय कथनहरू समेटेर जोखिम मोल्ने भन्ने बाटो देखायो । अमेरिकी फिल्म निर्देशक मार्टिन स्कोरसेसीले केही समय अघि मात्र खुलासा गरेका थिए कि, उनले फेलिनिको सन् १९६३ को मास्टरपिस फिल्म एट एण्ड हाफ हरेक वर्ष पुनःअवलोकन गर्छन् । उनले भनेका थिए कि “एट एण्ड हाफ मेरा लागि निकै नै महत्वपूर्ण छ । त्यो फिल्ममा भएको स्वतन्त्रता, नवीनताका भावनाहरु, अन्तर्निहित कठोरता र चाहनाको गहिरो गर्भगृह, क्यामेराका मनमोहक कम्पोजिसन र चालहरु मेरा फिल्म निर्माणका लागि कोसेढुङ्गा साबित भएका छन् ।”

हामीहरु पैसा तिरेर अँध्यारो थिएटर भित्र टाउको माथी पारी सेतो पर्दामा हेरी बस्छौँ, कि फिल्मले  हामीलाई कुनै जादुगरी नगरीमा पुर्याउने आशामा । यो भन्दा बढाई–चढाई गरेको हुदैँन कि फेलिनिको फिल्मले दर्शकलाई नयाँ तरिकामा फिल्म हेर्न सिकाइदियो । उनको फिल्मले हामीलाई, सपनामा पनि नदेखेको जादुगरी नगरिमा पुर्याईदिन्छ । उनले आफ्नो फिल्म निर्माणको लागि आफ्नो छुट्टै व्यक्तिगत शैलीको सिर्जना गरे जुन रहस्यमय तरिकामा यति साझा भयो कि हाम्रो संसार अझै सानो र घनिष्ठ महशुस हुन थाल्यो । तर अन्तरराष्ट्रिय फिल्म समालोचक समुदायको भने फेलिनीसँग निकै नै जटिल सम्बन्ध थियो । फेलिनीको फिल्म एट एण्ड हाफ को समीक्षामा समिक्षक पलिन काइलले लेखिकि थिइन् कि “कसैको काल्पनीक जिवन एक फिल्मको लागि राम्रो कथावस्तु हो, यदि यसले आफ्नो गैर–काल्पनिक जिवनलाई रोचक तरिकाले रोशन गर्दछ भने तर एट एण्ड हाफ पातलो कलात्मक घुम्टो ओढेको फिल्म निर्देशकको क्रीएटिभ ब्लकको आत्मकथा लागे पनि यो फिल्म आश्र्चर्यजनक रुपमा हलिउड नायिकाहरुका गुलियो सपना जस्तै छ, जसमा फ्रायडियन चिन्ता र विस फूलफिल्मेन्ट धारणाले फिल्मलाई खिचडी बनाएको छ ।”

फेलिनीको फिल्मको खोइरो खन्ने समालोचक काइल मात्र थिइनन् । समालोचक डेविड थोमसनको सन् २००८ मा प्रकाशित पुस्तक ह्याभ यु सिन मा उनले फेलिनीको सन् १९७३ को फिल्म अमारकर्ड को बारेमा लेखेका थिए कि “फेलिनीले आफ्नो निन्द्रामा कुनै पनि फिल्मको दृश्य खिच्न सक्छन् भन्दैमा त्यसो गरिराख्नु जरुरी छ र ?” पुस्तकको अर्को भागमा, थोमसनले फेलिनीको सन् १९६० को फिल्म ला डोल्चे भिटा को बारेमा भनेका छन् कि “भ्रामक सेट डिजाइनका टुक्राहरु, सिम्बोलिज्मको हद पार र रसाएका आँखाका भब्य उपमा भन्दा बाहेक फिल्ममा अरु केही पनि छैन ।” अनि फेलिनीकै सन् १९५७ को फिल्म नाइटस अफ काविरी (जसमा फेलिनी पत्नी तथा अभिनेत्री जुलियत्ता मासिनाको अभिनय रहेको छ) यसको बारेमा उनले लेखेका छन् “मासिना अहिले सम्मकै निकै कमजोर प्रस्तुतीमा देखिएकी छिन् ।” उनी थप्छन् “तर म भित्र भएको विष मिठो छ भने मरिन्छ भने नि खाँउ भन्ने घटिया मानसिकताले चाँही उनलाई हेर्दा चित्त बुझाउँछ ।”

तर मेरो बिचारमा काइल र थोमसन केवल गलत मात्र छैनन्, उनीहरुको समालोचना नै बकबास हो । भिटोरिया डे सिकालाई अपवादमा लिने हो भने (डि सिकाको फिल्म उम्बेर्तो डि ले मलाई अहिले पनि रुवाउँछ), फेलिनी सँधै नै इटालियन फिल्मी जगतको सबै भन्दा अन्तर्वेक्षणिक, कलात्मक र मानवीय संवेदनाले निकै नै भरिपूर्ण कथा भन्ने फिल्म निर्देशक हुन् । अनि फेलिनी प्रति यो भावना राख्ने समिक्षक म मात्र हैन । बीबीसी कल्चरको १०० सबैभन्दा महान् विदेशी भाषी फिल्महरूको सर्वेक्षणमा, सबै भन्दा धेरै फिल्म पर्ने निर्देशक मध्ये फेलिनीको स्थान दोस्रोमा थियो । उनका चार फिल्म यो सर्वेक्षणमा सूचिकृत भएका थिए । एकै निर्देशकका पाँच फिल्म सूचिकृत भएका अरु दुई जना मात्र थिए । फ्रेन्च फिल्म निर्देशक लुइस बुनेल र स्विस फिल्म निर्देशक इंगमर बर्गम्यान । यस सर्वेक्षणमा उत्कृष्ट ठहरिएका फेलिनीका फिल्महरु – एट एण्ड हाफ, ला डोल्चे भिटा , ला स्ट्राडानाइटस अफ काविरी हुन् ।

रोबेर्तो रोसेलिनको सन् १९४५ को नव–यर्थातवादी फिल्म  रोम ओपन सिटी बाट फेलिनीले पटकथा लेखकको रुपमा आफ्नो फिल्मी यात्रा सुरु गरेका थिए । जसको डेढ दशक नबिल्दै उनले नव–यर्थाथवादी फिल्मबाट मुख मोडे । विश्व युद्धबाट पिल्सीएको शहर र त्यहाँ रहेका दुखी मानिसको कथा चित्रण गर्ने नव–यथार्थवाद शैली छाडेर उनले सर्कसको पात्रको कथा भन्न सुरु गरे अनि मानिसको सपनाको ब्यथामा आफ्नो क्यामेरा चलाउन थाले । नव–यथार्थवादी शैलीबाटै आफ्नो फिल्म यात्रा सुरु गरेता पनि उनले केही समयमै फिल्म बनाउने आफ्नो नवीनतम शैलीको बिकास गरे । सन् १९५६ मा अन्तरराष्ट्रिय विधामा अस्कर अवार्ड जितेको फिल्म ला स्ट्राडा मा फेलिनिले आफू भित्रको पूर्णत पौराणिक संसार (मिथोलोजीकल वर्ल्ड) र आफ्नो पहिचानको कथा भन्न खोजे जुन कथा फेलिनिको अनुसार कुनै अरु कथाबाट प्रेरणा नलिईकन बनेको थियो । अमेरिकन फिल्म इन्स्टिच्युटका अनुसार ला स्ट्राडा अहिलेसम्म बनेको सबैभन्दा प्रभावशाली फिल्महरू मध्ये एक हो । नाइटस अफ काविरी मा फेलिनीले एक वेश्याको साँचो मायाको कथा भने । उक्त फिल्मले अस्कर अर्वाड जितेता पनि त्यतिखेरका समालोचकहरु उक्त फिल्मलाई खासै रुचाएका थिएनन् । तर चालिस वर्ष पछि टाइम्स म्यागजिनले गरेको समालोचनामा सो फिल्मको बारेमा समालोचिका ज्यानेट मासलिनले लेखेकि छिन् “यो फिल्म मास्टरपिस हो । यस फिल्मको अन्तिम सिन मात्रै पनि हलिउड फिल्म उधोगको सबै ब्लकबस्टर फिल्महरु भन्दा मूल्यवान छ ।”  त्यसपछि बनेको फिल्म ला डोल्चे भिटा ले फेलिनीको नाम संसारको प्रख्यात निर्देशकको सूचीमा नामकृत गराइदियो । यस फिल्ममा एक गोसिप म्यागजिनको पत्रकारको साँचो मायाको अफलदायी खोजको सात दिन र रातको कथा निकै नै सर्कसमय रुपमा भनिएको छ । यस फिल्मले अंग्रेजी शब्दकोशलाई एउटा नयाँ शब्द पनि दियो – पापाराजी ।

फेलिनीले यति धेरै ख्याति कमाउन थाले कि, उनमा कला र अध्यात्मको संकट नै निम्त्यायो – आफ्नो यत्रो ख्याति पश्चात कस्तो फिल्म बनाउने भनेर ! यही कला र अध्यात्मको संकटनै उनको अर्को फिल्म एट एण्ड हाफ को जग बन्यो । यस फिल्म चिन्तनले भरिपूर्ण भएको निकै नै रमाईलो फिल्ममा परिणत भयो । यो फिल्म दर्शकको लागि, फेलिनीको मानसपटलको बारेमा पढ्नका लागि खुला किताब जस्तै भयो । एक कलाकारको आशा जो अतीतको चेतनको शवोत्खनन गर्छ, भविष्यको पहेलीको ताला खोल्नका लागि । यस फिल्मले फेलिनिको करियरमा एक नयाँ अध्याय शुरू गर्यो जहाँ फिल्ममा न्यारेटिभ भन्दा पनि तमाशालाई पहिलो स्थान दिन सुरु भयो ।  फेलिनीको सबै चलचित्रहरू उही ’क्लासिक’ स्थिति पाउन योग्य भने अवश्य छैनन् । तर सन् १९९३ मा अस्करले उनलाई होनरेरी अस्कर प्रदान गर्ने निर्णय निकै नै उचित थियो । आफ्नो मृत्यु हुनु एक वर्ष पहिला स्टेजमा आफ्नो अवार्ड समाँउदै हार्दिक रुपमा भने “ग्रासियस” (धन्यवाद) र आफ्नी पत्नी जुलियत्तालाई रुन छोड्न भने । अरु भन्ने कुरा के थियो र ? उनका फिल्मले सबै कुरा त पहिल्यै भनिसकेका छन् ।

(समालोचक क्रिस लासवेतीको बिबीसी कल्चरमा प्रकाशित लेखको श्रीधर निरौलाद्वारा अनुवादित एबम् सम्पादित अंश)

२०७६ फागुन २५ गते ८:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *