“एक प्रमाणित बलात्कारी”

हलिउड निर्माता हार्वी वाइन्स्टाइनलाई अदालतले २३ वर्षको जेल सजाय सुनाए पछि हलिवुडका सेलेब्रेटिहरुले आफ्नो प्रतिक्रियाहरु दिन थालेका छन् । प्रतिक्रिया दिनेहरुमा पिडित देखि पत्रकार सम्म रहेका छन् ।

अभिनेत्री रिज विदरस्पुनले यो एक ऐतिहासिक क्षण भएको भन्दै हार्वी वाइन्स्टाइन बिरुद्ध पिडितहरुले दिएको बयानहरुको लागि पिडितहरुको सराहना गरेकी छिन् । उनले एक पटक फेरी अमेरिकी न्याय प्रणालीमाथि आफ्नो बिश्वास जागेको समेत बताईन् । त्यस्तै उनले विभिन्न बाधा, धम्किका बाबजुद पनि यौन हिंसाका घटनाहरु बाहिर ल्याउने साहस गरेका पत्रकार तथा प्रकाशकहरुलाई पनि धन्यबाद दिएकी छिन् ।

अभिनेता जिम क्यारीले ट्वीटरमा वाइन्स्टाइनको स्केच पोष्ट गर्दै ‘हार्वी वाइन्स्टाइन (१९५२ -२०२०)’ लेखेका छन् ।

अदालत बाहिर पत्रकारहरु संगको कुराकानीमा मोडल एम्ब्रा गीटिरेले आफु २३ वर्षको हुँदा वाइन्स्टाइनले आफ्नो जीवन बर्बाद गरेको सम्झिदै अहिले आफु अत्यन्त खुशी भएको बताईन् । उनले सन् २०१५ मा वाइन्स्टाइनले आफु माथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।

द साइलेन्स ब्रेकर्स  नामको समूहले एक बक्तब्य निकाल्दै वाइन्स्टाइन सधैंभर एक बलात्कारीको रुपमा चिनिने र जति सुकै वर्षको जेल सजाय भए पनि उसको लागि कम हुने बताएको छ । द साइलेन्स ब्रेकर्स  वाइन्स्टाइनलाई आरोप लगाउने २ दर्जन मानिसहरुको समूह हो । यसमा एश्ले जुड, रोजाना अर्केट लगायतका सदस्यहरु छन् ।

टाइम्स अप फाउन्डेसन  कि टिना चेनले यौन हिंसा र दुर्ब्यबहारको आघात जीवन भर रहने भन्दै जेल सजायको घोषणाले पिडितहरुलाई थोरै भए पनि शान्ति मिल्ने बताईन् ।

रोजाना आर्केटले खुलेर आरोप लगाउन हिम्मत राखेकाहरुको प्रसंशा गर्दै ‘द न्यु योर्कर ‘ र ‘द न्यु योर्क टाइम्स ‘ का पत्रकारहरु एबम् सम्पादकहरुलाई धन्यबाद दिएकी छिन् ।

त्यसैगरी आरोप लगाउने मध्येकि एक जेसिका बार्थले #जस्टिस लेखेर ट्विट गरेकी छिन् ।

अभिनेत्री मिरा सोर्भिनोले लेखेकी छिन् – “२३ वर्ष, हार्वी वाइन्स्टाइनलाई २३ वर्षको जेल सजाय सुनाइएको छ । मेरो खुशीको आँशु झर्यो, न्याय प्रणालीले पिडितको पक्षमा फैसला गरेकोमा कृतज्ञ छु ।” उनले पनि वाइन्स्टाइनलाई यौन दुर्व्यबहारको आरोप लगाएकी थिइन् ।

सन् २०१७ मा वाइन्स्टाइनलाई आरोप लगाईसकीएपछि खुलेर बोलेकी सारा एन मासले बोल्ने हिम्मत जुटाएकाहरु सबैलाई बधाई दिएकी छिन् । उनले मुद्दाको समय आफ्नो अडान लिने महिलाहरुकै कारण यो सम्भब भएको बताइन् । उनले वाइन्स्टाइन अब एक प्रमाणित बलात्कारी भएको लेखेकी छिन् ।

रोजी पेरेजले अन्नाबेला सियोर्रा र अन्य साहसी महिलाहरुको विजय भएको बताइन् ।

एलेन बर्किनले जेसिका मान, मिमि हाले र सबै १०८ जना पिडितहरुको हिम्मतको प्रसंशा गरिन् । उनले पत्रकारहरु र जज बर्क लाई धन्यबाद दिइन् । एलेनले आफु पनि दुर्ब्यबहारको शिकार भएको बताएकी थिइन् ।

जोडी क्याण्टोरले लेखेकी छिन् – “सजाय सुनाउँदा म अदालत भित्रै थिए, वाइन्स्टाइनलाई व्हिलचेयरमा हथकडी लगाएर निकालियो, त्यसपछि गवाही दिने महिला रोइन्, वाइन्स्टाइनको कुकर्म गोप्य रुपले बाहिर ल्याउन सहयोग गरेका उनका ३० वर्षीय एकाउन्टेन्ट इर्विन राइटर पछाडी पट्टि थिए ।” जोडी क्याण्टोर न्यु योर्क टाइम्स  मा वाइन्स्टाइनको किस्सा सार्बजनिक गर्ने दुइ रिपोर्टर मध्ये एक हुन् ।

रोनन फारोले बोल्ने मानिसहरुको शक्ति बारे लेखेका छन्, उनले पहिलो पटक आरोप बारे समाचार प्रकाशन गर्ने न्यु योर्क टाइम्स  का सम्पादकहरु लाई सम्झिएका छन् ।

सन् २०१७ को अक्टोबरमा वाइन्स्टाइनलाई दर्जन बढी महिलाहरुले यौन शोषण, दुर्ब्यबहार र बलात्कारको आरोप लगाएका थिए । लगाइएको पाँच आरोप मध्ये दुइमा उनलाई दोषी ठहर गरिएको थियो । सन् २००६ मा प्रोडक्सन एसीस्टेन्ट मिरियम हाले माथि गरिएको पहिलो डिग्रीको यौन अपराध र सन् २०१३ मा अभिनेत्री जेसिका मान माथिको थर्ड डिग्री वलात्कारको लागि उनलाई २३ वर्षको जेल सजाय सुनाइएको हो ।

(स्रोत : डेडलाइनडटकम)