वार्नर मिडियाले आफ्ना ‘क्रू मेम्बर्स’लाई १०० मिलियन डलर सहयोग गर्ने

कोरोना भाइरस (कोभिड 19) ले विश्वभरको जनजीवन तहसनहस बनाइरहँदा वार्नर मिडियाले आफ्नो क्रू मेम्बर्सलाई १०० मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको त्रासले कैयौ ठूला प्रोडक्शन हाउस बन्द भएका बेला वार्नर मिडियाले आफ्ना बेरोजगार क्रू मेम्बर्सलाई यस्तो राहतको घोषणा गरेको हो ।

कम्पनीका कार्यकारी अधिकृत जोन स्टेनले शुक्रबार मेमोमार्फत उक्त राहत प्याकेजको जानकारी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यम ले जनाएका छन् । उनले भनेका छन्, ‘हामीले साथीहरुको स्वास्थ्य र सुरक्षाको लागि तत्कालका लागि प्रोडक्शन बन्द गरेका छौ । तर हाम्रो क्रू मेम्बर्स बेरोजगार नहोस भनेर १०० मिलियन डलरको राहत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

उनले कोरोनाका कारण संकटमा गुज्रिरहेको मनोरञ्जन क्षेत्रका कम्पनीहरुको बारेमा समेत चासो दिएर कुराकानी गरेका छन् । उनले भनेका छन्, ‘ यतिबेला हामी मिलेर अगाडि बढ्ने समय हो । हामी मनोरञ्जनका कम्पनीहरु मिलौ र आफ्ना कर्मचारीहरुलाई राहतको प्याकेज दिऔ । उनीहरुको स्वास्थ्य राम्रो भयो भने हाम्रो भविष्य उज्जवल छ नत्र हामी पनि डुब्छौ ।’

यस्तै जोनले अब घरमै बसेर मनोरञ्जन लिन सक्ने कम्पनी बनाउनेतर्फ संकेत गरेका छन् । उनले भनेका छन्, ‘संसारभरका फिल्म हल बन्द भएकाले फिल्म उद्योग धरासायी भएको छ, यो क्षेत्रमा उथलपथल भएको छ । हामी दर्शकका लागि फिल्मको नयाँ मिति दिनेछौ, त्यो पनि घरमै बसी-बसी हेर्न मिल्नेगरी ।’

यसअघि नेटफ्लिक्सले पनि आफ्ना क्रू मेम्बर्सका सदस्यहरुलाई सहयोग गर्ने घोषणा गरिसकेको छ ।

नेटफ्लिक्सका चिफ कन्टेन्ट अफिसर टेड सेरान्डोसले भनेका छन्, ‘ कोभिड १९ ले धेरै उद्योगहरुलाई प्रभावित पारेको मात्रै छैन, बन्द नै गरिदिएको छ । कम्तिमा सबै टीभी तथा फिल्म प्रोडक्शन बन्द भएका छन् । योसँगै चलिरहेको सबै कास्ट तथा क्रूका मानिसहरुको जागिर खोसिएको छ । यसको लागि हामीले आफ्नो कर्मचारीलाई १०० मिलियनको राहत दिने घोषणा गर्न चाहन्छु ।’

उनका अनुसार तत्काल काम गुमाएका इलेक्ट्रिसियन, कार्पेन्टर तथा ड्राइभरहरुलाई राहत स्वरुप उक्त रकम दिइनेछ ।