आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक

काठमाडौं- अभिनेता सबिन श्रेष्ठ अभिनित फिल्म ‘धन्दागिरी’ को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक भएको छ । गीतमा मिना निरौलाको स्वर, नारायण नेपालको शब्द, सूर्यकमल राईको संगीत र सञ्जय हमालको एरेञ्ज छ । नरेन्द्र भट्टराई (एनबी अन्जान) को निर्देशनमा बनेको फिल्मको रिलिज कोरोना महामारीको कारण रोकिएको थियो । अब फिल्म दशैंको अवसर पारेर असोज २६ गते देशभर प्रदर्शनमा आउने भएको छ ।

फिल्ममा सबिनसँगै छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत,सुभाष गजुरेल, सुनील कटुवाल, सबिता रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ । दिनेश खड्का एसोसियट निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा कुमारप्रसाद ओझा छन् । कविभक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ फिल्मका निर्माता हुन् । आर आर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् ।

फिल्मको डिजिटल राइटस डिएआर मुभिज एण्ड फिल्म्सले लिएको छ । गीत डिएआर मुभिजको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ ।