‘सुनको महल’ बोलको गीत सार्वजनिक

काठमाडौं- गायक, मोडल तथा सर्जक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक गरिएको छ । मंगलबार पोखराको ‘मिडटाउन’मा एक औपचारिक कार्यक्रमको आयोजना गरी भिडियो सहितको गीत सार्वजनिक गरिएको हो । गीतमा दीपेन्द्र बुढा ठकुरीको स्वर रहेको छ भने भिडियोमा पनि मुख्य अभिनय गरेका छन् । यस्तै गीतमा संगीत र एरेन्जको काम अर्जुन थापाले गरेका छन् भने भिडियोमा निर्देशन पनि अर्जुन कै रहेको छ । भिडियोमा वरिष्ठ कलाकार निर शाह र लोकप्रिय नायिका केकी अधिकारीको पनि मुख्य अभिनय रहेको छ । भिडियोमा सुशिल डाँगीको छायांकन रहेको छ भने विवेक सुनारले सम्पादन गरेका हुन् । भिडियोको निर्मात्री मिना श्रेष्ठ हुन् ।

भिडियो सार्वजनिक कार्यक्रममा नायिका केकी स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट कुराकारी गराइएको थियो । भर्चुअल माध्यमबाट केकीले भिडियोमा काम गर्दाका अनुभव साटेकी थिइन् । साथै आफ्नो स्वास्थ्यमा समस्या आएकाले पोखरा उपस्थित हुन नसकेको पनि जानकारी गराइन् । भिडियो ओ.एस.आर. डिजिटलको युट्युवमार्फत सार्वजनिक गरिएको छ ।