सलमानको ‘अन्तिम’ महँगो रकम तिरेर नेपाल भित्र्याइयो !

सलमान खान अभिनीत नयाँ फिल्म ‘अन्तिम’ यही शुक्रवार (नोभेम्बर २६) बाट प्रदर्शनमा आउँदैछ । उनको फिल्म नेपालमा रिलिज नहुने त कुरै भएन । गोपीकृष्ण मुभिज मातहतको कम्पनी ‘ए एट फिल्मस्’ ले यो फिल्मलाई ठूलो रकम तिरेर नेपाल प्रदर्शन राइट्स लिएको छ । कम्पनीका अध्यक्ष निरज पौडेलले फिल्मलाई नेपाल ल्याउन एक करोड ३५ लाख तिरेको जानकारी प्राप्त छ ।
नेपालका १२५ वटा हलमा फिल्म रिलिज हुने कम्पनीले जनाएको छ । तिहारमा  रिलिज भएको बलिउड फिल्म ‘सुर्यवंशी’ ले पनि नेपालमा सय बढी हल पाएको थियो । यो फिल्मले नेपालमा आक्रामक व्यापार गरेको देखेपछि ‘ए एट फिल्मस्’ ले उत्साहित भएर सलमानको फिल्मलाई मोटो रकम तिरेको हुनसक्ने देखिन्छ । ‘अन्तिम’ हेर्नका लागि पनि हलसम्म दर्शक पुग्ने अपेक्षा धेरैको छ ।
जी स्टूडियोको निर्माणमा महेश मान्जरेकरले फिल्मको निर्देशन गरेका हुन् । उनले यसअघि थुप्रै सफल मराठी फिल्मको निर्देशन गरिसकेका छन् । केही बलिउड फिल्ममा उनले सलमानसँग काम पनि गरेका छन् । फिल्ममा आयुष शर्मा र महिमा मकवानाको पनि अभिनय रहेको छ । आयुष शर्मा, सलमान खानका ज्वाईं हुन् । पहिलो पटक उनीहरुले एकसाथ फिल्ममा काम गरेका हुन् ।