रणवीर आलियालाई छाडेर रश्मिकासँग निस्किए मनाली

अघिल्लो हप्ता मात्र आलिया भट्टसँग विवाह बन्धनमा बाँधिएका बलिउड अभिनेता रणवीर कपूर फिल्म छायांकनको लागि तयार छन् ।

रणवीर नयाँ फिल्मको सुटिङमा मनाली पुगेका छन्। रणवीरको मुख्य रोल रहेको फिल्म ‘एनिमल’ को छायांकन मनालीबाट सुरु भएको छ । फिल्म ‘ब्रह्मास्त्र’ को छायांकन सकाए लगत्तै विवाह बन्धनमा बाँधिएका रणवीरले फिल्मको छायांकन सुरु गरेको खबर भारतीय मिडियामा छापिएको छ ।

‘कबीर सिंह’ फिल्मका निर्देशक सन्दीप रेड्डी भंगाको फिल्म एनिमलमा रणवीरसँगै मुख्य भूमिकामा दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना छन्। ‘पुष्पाः द राइज’ बाट उत्तरी भारत र अन्य हिन्दीभाषी दर्शकमाझ चर्चित बनेकी रश्मिकाको यो बलिउडमा डेब्यु फिल्म हो। उनी पनि सुटिङका लागि मनाली पुगेकी छन्।

फिल्ममा रणवीर र रश्मिकाबाहेक अभिनेताहरू अनिल कपुर, बबी देवल पनि देखिने छन्।  यस फिल्मको लागि नेपाली कलाकार बिपिन कार्कीलाई पनि अफर गरिएको थियो । अनिल कपूरसँग आफ्नो बढी दृश्य रहेको बिपिनले बताएका थिए । उनको छायांकन अन्तिम सेड्युलमा हुने बताइएको छ ।

क्राइम थ्रिलर ड्रामा एनिमल सन् २०२३ अगस्ट ११ मा रिलिज हुने बताइएको छ।