तौल घटाउन शल्यक्रिया गर्दा अभिनेत्रीको निधन

कन्नडा अभिनेत्री चेतना राजको निधन भएको छ ।

२१ वर्षीया साउथ इन्डियन कन्नड टेलीफिल्मकी अभिनेत्रीको मंगलबार बेंगलुरुको एक निजी अस्पतालमा बोसो हटाउने शल्यक्रियाको क्रममा निधन भएको हो ।

मिडियाका अनुसार केही दिन अघि उनले तौल कम गराउन शल्यक्रिया गराएकी थिइन् । उनले आफ्नो शल्यक्रियाबारे आमा- बुबालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन भएको जनाएका छन् ।

अहिले उनका अभिभावकहरूले शल्यक्रिया चिकित्सकको लापरवाहीको आरोप लगाएका छन्। अभिनेत्रीका आमा- बुबाले डाक्टरले लापरवाही गरेको आरोप लगाउदै अस्पतालको प्रशासनविरुद्ध उजुरी दर्ता गरेका छन् । उनीहरु उपकरण बिना नै शल्यक्रिया गरेको बताउँछन् । ‘अस्पतालको लापरवाहीले छोरीको निधन भयो । डाक्टरहरूले अभिभावकको स्वीकृति र उचित उपकरण बिना शल्यक्रिया गरेका छन्’,।

चेतना राज बेंगलुरुको अबिगेरेकी बासिन्दा हुन्। सुरुमा चेतनाले शल्यक्रिया गर्न परिवारसँग अनुमति मागेकी थिइन तर परिवारले शल्यक्रिया नगर्न भनेका थिए । उनले परिवारका सदस्यलाई थाहा नदिई शल्यक्रिया गराएको बताइएको छ । शल्यक्रिया गर्दा उनको फोक्सोमा पानी जम्मा हुन थाल्यो यसैका कारण चेतनाको निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

टेलीफिल्ममा काम गर्ने क्रममा चेतनालाई कसैले तौल बढेको र त्यसलाई घटाउनु पर्ने सल्लाह दिएका थिए । ‘उनी एकदम ठिक थिइन्। उनी आफ्ना साथीहरूसँग अस्पताल गएकी थिइन्। उनी आफ्नो बढेको बोसो कम गर्नका लागि शेट्टी अस्पताल पुगेकी उनका ठूलोबुबाले बताएका छन् ।’

चेतना राजले चर्चित सिरियल ‘गीथा’, ‘डोरेसानी’, ‘ओलाविना निल्दाना’ मा अभिनय गरिसकेकी छिन् । उनले कन्नड फिल्म ‘हवायामी’ मा पनि अभिनय गरेकी थिइन् ।