५ दिने बिदाको सदुपयोग गर्न नसक्दा पछारियो आमिरको ‘लाल सिंह चड्डा’

 

४ बर्ष अगाडि रिलिज भएको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा पछारिएपछि नायक आमिर खानप्रति निक्कै ठुलो चुनौती थियो । बक्स अफिसमा सर्वाधिक धेरै कमाई गर्ने बलिउड फिल्मको रेकर्ड आमिरको ‘दंगल’सँगै छ । ‘रंग दे बसन्ती, थ्रि इडियट्स, पीके’ जस्ता फिल्म दर्शकमाझ दिएका आमिर पछिल्ला बर्षमा भने बक्स अफिसमा कमजोर देखिन थालेका छन् ।

बलिउड साहरुख खान, सलमान खानका फिल्मले कमजोर व्यापार गरिरहेको समयमा आमिर खानका फिल्म पनि तगडा देखिन छाडेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ, ‘लाल सिंह चड्डा’ ।

यो फिल्म बिहिबार रक्षा बन्धनको अवसर पारेर रिलिज भएको थियो । ५ दिने विकेन्डमा बम्पर व्यापार गरेको भए निर्मातालाई ठूलो फाइदा हुने थियो । तर, फिल्मले ५ दिने विकेन्डमा कमजोर व्यापार गरेको छ ।

बिहिबार ११.७० करोडको ओपनिङ गरेको फिल्मले शुक्रबार ७.२६ करोड, शनिबार ९ करोड र आइतबार १० करोडको व्यापार गरेको छ । संभवत, आज परेको भारतको स्वतन्त्रता दिवसको फाइदा उठाउँदै फिल्मले दोहोरो अंकको व्यापार गर्न सक्छ । तर, फिल्म मंगलबारबाट भने बक्स अफिसमा नमज्जाले चिप्लने देखिएको छ ।

४ दिनमा ३८ करोडको व्यापार गरेको फिल्मले ५ दिने विकेन्डमा ५० करोड पनि नछुने देखिएको छ । यसले, १ सय ८० करोडको बजेटमा ४ बर्ष लगाएर बनाइएको आमिरको यो फिल्मले ठूलो घाटा व्यहोर्ने पक्का जस्तै छ । करिना कपुरसँग जोडी बाँधेर आमिरले करिब ३ घन्टाको यात्रा फिल्ममा गरेका छन् । तर, उनको यात्रामा दर्शक खासै रमाउन सकेनन् ।