‘ससुराल सिमर’ का १४बर्षिय अनु सिंहको मृत्यु

भारतको राजधानी नजिकै धरसिवा गाउँमा भएको सडक दुर्घटनामा बलिउड र टेलिभिजनका चर्चित बाल कलाकार शिवलेख सिंह उर्फ अनु सिंहको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार १४ बर्षीय शिवलेख आफ्नो परिवारसँग कारमा यात्रा गरिरहेका थिए । बिहिबार दिउँसो ३ बजे उनी चढेको कार ट्रकसँग ठोक्कियो । शिवलेखका बुवा शवेन्द्र सिंह र आमा लेखना सिंह गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् । ट्रकका ड्राइभर भने भागेका छन् ।

शिवलेखले टिभी सिरियल ससुराल सिमरका सहित विभिन्न टेलिश्रृङ्खलामा अभिनय गरेका थिए । उनले जी टिभीको इन्डियाज बेस्ट ड्रामेबाज, सोनी टिभीको संकटमोचन हनुमान, कलर्स टिभीको ससुराल सिमरका, सब टिभीका खेलाडी, बालवीर, श्रीमान जी श्रीमती जी, बिग म्याजिकको अकबर–बिरबलमा अभिनय गरिसकेका छन् । उनी रेमो डिसुजाको फिल्ममा पनि काम गरिरहेका थिए । यसको ९० प्रतिशत सुटिङ सकिएको छ ।