साम्राज्ञी राज र देलविससँग म्युजिक भिडियोमा

काठमाडौं- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दर्शकले पर्दामा देख्न नपाएको धेरै भयो । फिल्म बाहेक विज्ञापन र म्युजिक भिडियो भने उनको रोजाइमा खासै पर्ने गरेको छैन । केही अगाडि आफ्नै आमाको स्वर रहेको एक म्युजिक भिडियो अभिनय गरेकी साम्राज्ञी फेरि म्युजिक भिडियोमा देखिने भएकी छन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नव कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाङ्फेसँग उनी एक म्युजिक भिडियोमा देखिन लागेकी छन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन शेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडिओलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् ।

गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शब्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन गरेको छ । गीतमा कोरियोग्राफी माइकल चन्दको रहनेछ । गीतको भिडिओ छायाँकन काठमाडौँका विभिन्न स्थानमा गरिने भएको छ । भिडियोलाई ट्री मिडियाको अफिसियल युट्युव च्यानलमार्फत एक कार्यक्रमका बीच सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।