‘तिमी बिना मुटु दुख्छ’ सार्वजनिक

काठमाडौँ- राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको आधुनिक गीत ‘तिमी बिना मुटु दुख्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौं नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका छन् भने राजेश कुमार शाहले निर्माण गरेका हुन् ।

निर्देशक ज्ञवालीले यसअघि एक दर्जनको हाराहारी सर्टफिल्म तथा केहि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । सार्वजनिक उक्त गीतको भिडियो निकै सरल तर कथावस्तु हेर्नलायक छ । सडकमा मजदुरी गर्ने एक जोडीको प्रेमलाई सामान्य रुपमा भिडियोमा देखाउने प्रयास गरिएको छ ।

रचना रिमाल र शंकरलाल श्रेष्ठको स्वर रहेको गीतलाई युरेश सिग्देलले लेखेका हुन् । भिडियोमा चर्चित मोडल स्मृती श्रेष्ठ र युरेश सिग्देलको अभिनय रहेको छ । इश्वर सिकमनाले खिचेको भिडियोलाई चर्चित फिल्म सम्पादक मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।