गीत-संगीतको लाइसेनिङ सेवा सुरु

काठमाडौं- नेपाली चलचित्र, गीत-संगीत, कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन र बजार व्यवस्थापन गर्दै आएको कम्पनी नेप्सिनेले राजधानीको होटल र्याडिसनमा एक कार्यक्रमबीच संगीत अधिकार व्यवस्थापन र लाइसेनिङ सेवाको औपचारिक सुरुवात गरेको छ । नेपालमै पहिलो पटक सुरुवात गरिएको यस सेवाले गीत तथा संगीतका रचना अनि निर्माणमा प्रमुख भूमिका खेल्ने गीतकार, संगीतकार, निर्माता, प्रस्तोता तथा प्राविधिकहरूको हक, अधिकारको उचित व्यवस्थापन गर्दै, नेपाली गीत-संगीतको सार्वजनिक वा व्यवसायिक प्रयोग गर्ने प्रयोगकर्तालाई कानुनी दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने नेप्सिनेका संंस्थापक एवं कार्यकारी प्रमुख रायन रेजले बताएका छन् ।

गीत तथा संगीतको व्यवसायिक या सार्वजनिक प्रयोग गर्दा सरोकारवाला अधिकार धनीको अनिवार्य रूपमा अनुमति लिएर संगीत रोयल्टी बुझाउनु पर्ने अन्तर्राष्ट्रिय नियम रहे पनि यो नियमको पालना नेपाली गीत/संगीतको प्रयोगकर्ताले नगरी दिँदा संगीत र कला उद्योग नै धरासायी हुने अवस्थामा पुगेको छ ।

यही अवस्थालाई परिवर्तन गर्न र नेपाली संगीत तथा कलाकर्मीको अधिकार स्थापित गर्न संगीत लाईसेनिङ सेवाको सुरुवात गरिएको नेप्सिनेले जनाएको छ । साथसाथै यो सेवा पूर्ण रूपमा पारदर्शी र उत्तरदायी बनाउन प्रयोगकर्ता र अधिकार धनी दुवैलाई आफ्ना आर्थिक तथा अन्य सम्बन्धित विवरणहरू खुला र निर्वाध रूपमा हेर्न र खोज्न सकिने गरी पोर्टल एक्सेसको व्यवस्था गरिएको छ । कार्यक्रममा विभिन्न विधाका १५० भन्दा बढी स्रष्टालाई सम्मान गर्दै विभिन्न देशबाट विगत तीन महिनामा संकलन गरिएको उनीहरूको रोयल्टी पनि वितरण गरिएको थियो । रोयल्टी प्राप्त गर्ने स्रष्टाहरूमा अग्रज रञ्जित गजमेर, कुसुम गजमेर, शम्भुजित बासकोटा, तुलसी घिमिरे, राजेन्द्र थापा, विप्लव प्रतिकदेखि नयाँ पुस्ताका अर्जुन पोखरेल, वसन्त सापकोटा, राजनराज शिवाकोटी, दीपक शर्मा, हरि लम्साल, विपिन किरण, बाबु बोगटी, वसन्त थापा, विजय लामा, अमृत घोले लामा, अनिता चलाउने, विश्व नेपाली, चक्र बम, दिग्गज धौराली, डिपी खनाल रहेका छन् । त्यस्तै रामचन्द्र काफले, गोविन्द गैरे, हिमांशु रायमाझी, कमल खत्री, किरण भुजेल, किशन रेग्मी, कृष्ण काफले, लेखु सहयात्री, लोकराज अधिकारी, मदन सेञ्चुरी, मानष राज, नरेश बिबिसी, नवराज कलाउनी, निशा शर्मा अर्याल, राजेन्द्र भट्ट, राजेन्द्र रिजाल, रकेन म्युजिक, सरोज साजन श्रेष्ठ, शंकरलाल थापा, सुभाष भुषाल, सुदिप लम्साल लगायतलाई रोयल्टी प्रदान गरिएको थियो ।

नेप्सिनेका प्रमुख संचालन अधिकृत विधान कार्कीले आफूले श्रृजना गरेका श्रृजनाहरु सर्वाधिक लोकप्रिय भैसकेपछि विश्वभर निरन्तर भोग चलन हुँदाहुँदै पनि आर्थिक अनी सामाजिक समस्यामा अल्झिनुपर्ने कारुणिक अवस्थाको अन्त्य गर्दै नेपाली कला र सांगीतिक क्षेत्रलाई समय सुहाउँदो विकासको बाटो तर्फ लैजाने मुख्य उद्देश्य रहेको बताए ।