कंगनाको दाबी–‘साहरुख र म अन्तिम स्टार’

आफ्नो बयानका कारण बेलाबखत विवादमा आउने बलिउड नायिका कंगना रनावतले फेरि एक पटक विवादित बयान दिएकी छिन् । उनले, आफ्नो तुलना बलिउड नायक साहरुख खानसँग गरेकी छिन् । कंगनाले, साहरुख र आफू स्टार जेनेरेशनको अन्तिम कलाकार भएको उल्लेख गरेकी हुन् । 

लोकसेवामा बीजेपी पार्टीबाट टिकट पाएपछि कंगना उत्साहित छिन् । राजनीतिमा लागेपछि कंगनाको फिल्म पनि निरन्तर असफल भइरहेको छ ।

यही विषयमा भारतीय मिडियाले सोधेको एक प्रश्नमा उनले भनेकी छिन्–‘संसारमा कोही पनि यस्तो स्टार छैन, जसको फिल्म फ्लप नभएको होस् । साहरुख खानले पनि हिट फिल्मका लागि १० बर्ष पर्खिएका थिए र उनको पठान हिट भयो । मेरो साथमा पनि ७–८ वर्षसम्म कुनै हिट फिल्म थिएन । यसपछि मेरो करिअरमा क्विन आयो । यसपछि फेरि केही बर्ष फिल्म हिट भएन । फिल्म मणिकर्णिकाले त्यसलाई पुरा गरिदियो । अब, इमर्जेन्सी रिलिज हुँदैछ, आशा गरौं यो हिट हुन्छ ।’

कंगनाले ओटिटी प्लेटफर्मका कारण नयाँ कलाकारलाई पनि आफ्नो ट्यालेन्ट देखाउने मौका मिलेको बताइन् । उनले, ओटिटीमा कोही पनि स्टार नभएको तर्क गरेकी छिन् । उनले भनिन्–‘भगवानको कृपाले हामी चिनिएका अनुहार हौं, हाम्रो माग सधैं रहन्छ । यसैले, मलाई फिल्ममा असफल भएर राजनीतिमा आए जस्तो लाग्दैन । म कला क्षेत्रसँगै वास्तविक जीवनमा पनि जोडिन चाहन्छु ।’