५ हजार बोकेर भारत आएकी नोरा, कसरी बनिन् सफल कलाकार ?

बलिउडमा नोरा फतेहीको चर्चा सर्वाधिक छ । नोराले काम गरेका केही फिल्मका आइटम गीतहरू सुपरहिट भएपछि उनको माग पनि उच्च छ । अर्कोतिर, उनको सुन्दरता, नृत्य र आकर्षक फिगरको पनि खुबै चर्चा हुने गरेको छ । तर, क्यानडामा जन्मिएकी नोराको करिअरको सुरुवात सुखद थिएन । उनी, ५ हजार रुपैयाँ मात्र बोकेर भारत आएकी थिइन् । 

हालै मात्र एक मिडियासँगको कुराकानीमा नोराले विगत संझदै भनेकी छिन्–‘म ९ जना युवतीहरूको साथमा एक थ्री बीएचके अपार्टमेन्टमा बसेकी थिएँ । यहाँ आएर मैले किन आफूलाई धोका दिएँ जस्तो लाग्थ्यो । म यी कुराहरूका लागि कहिले पनि तयार थिइनँ जस्तो लाग्छ । आज पनि त्यो कुरा संझदा दुःख लाग्छ ।’

नोराले उक्त समयमा अपार्टमेन्टको पैसा कसरी तिर्थिन् होला, भनिन्–‘उक्त समयमा हाम्रो अपार्टमेन्टको पैसा एजेन्सीले तिरिदिन्थ्यो । यसवापत, उनीहरुले हामीबाट कमिसन लिन्थे । अपार्टमेन्टको पैसा तिरेपछि मसँग निकै कम पैसा बच्थ्यो । मैले कैयौं पटक अन्डा, ब्रेड र दूध खाएर जीवन चलाएको छु । हामीलाई केही एजेन्सीहरूले निकै पीडा पनि दिएका छन् ।’

नोराले संघर्षको समयमा आफूले कैयौं पटक थेरापी समेत लिएको उल्लेख गरेकी छिन् । 

सन् २०१४ मा नोराले ‘रोरः टाइगर्स अफ द सुन्दरबस’बाट बलिउडमा पाइला चालेकी हुन् । तर, उनलाई दर्शकले ‘बीग बोस ९’मा सहभागी भएपछि बढी चिन्न थालेका हुन् । 

नोराले नृत्य गरेका ‘दिलबर दिलबर, हाय गर्मी’ लगायतका गीत सुपरहिट भएका थिए ।