पिके निर्देशकको ४५ करोड अघोषित सम्पत्ति भेटियो

मुन्नाभाइ एमबीबीएस, सञ्जु र पिके लगायत सुपरहिट फिल्म निर्माता निर्देशक राजकुमार हिरानीसँग भएको अघोषित सम्पत्ति मुम्बई आयकर विभागले पत्ता लागेको छ । अफिसको एक कुनामा रहेको डस्टबिनमा फ्याँकिएको ४५ करोड भारुको सम्झौता पत्रको फोटोकपी नै निर्माता हिरानीको अघोषित सम्पत्तिको सुराग बन्यो । उनका साथै अभिनेता टाइगर श्रोफ र स्त्री फिल्मका निर्माता दिनेश विजनसंग पनि अघोषित सम्पति रहेको दावी छ ।

सर्वेक्षणका लागि इनकम ट्याक्स अधिकारी हिरानीको अफिसमा पुगेका थिए । उनीहरुले कुनामा फ्याँकिएको कागज उठाएर खल्तीमा राखे । पछि हेर्दा थाहा भयो उक्त कागज नेटफ्लिक्स र हिरानीबीच सञ्जु फिल्मको एक्जिबिशन राइट्सको विषयमा गरिएको ४५ करोडको सम्झौता थियो । जब यसको जानकारी हिरानीले भरेको एड्भान्स ट्याक्स र फाइनल आइटीआरमा खोजियो तब उनले यसबारे आयकर विभागमा केही जानकारी नदिएको पत्ता लाग्यो ।