अभिनेत्री कंगनाको राजनीतिक डेब्यु, भाजपाबाट लोकसभाको चुनाव लड्दै

बलिउड अभिनेत्री कंगना रनावतको लागि यो वर्ष खासै राम्रो प्रगति भएन । तर, वर्षको अन्त्यतिर भने उनको लागि खुसीको खबर आएको छ । कंगनाले लोकसभाको चुनावमा लड्ने पक्का पक्की भएको छ ।

न्युज१८ को रिपोर्ट अनुसार कंगनाका बुबा अमरदीपले कंगनाले अर्को वर्ष हुने लोकसभा चुनावमा भारतीय जनता पार्टी (बीजेपी) को टिकटमा लड्ने कुरा पुष्टि गरेका छन् । कंगना बीजेपीबाट चुनाव लड्ने तय भएपनि कहाँबाट चुनाव लड्ने भन्ने निर्णय पार्टीले गर्ने उनले बताए ।

आइतबार कंगनाले बीजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग कुल्लुको शास्त्री नगरस्थित उनको निवासमा भेट गरेकी थिइन्। त्यस यता कंगनाले भाजपाबाट चुनाव लड्ने अड्कलबाजी सुरु भएको थियो । तर, अब उनका बुवाले अर्को वर्ष चुनाव लड्ने स्पष्ट पारेका छन् ।

कंगनाले सार्वजनिक रुपमा नै प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरिरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा उनका पोस्टहरू हेरेर पनि मानिसहरूले उनी पक्का चुनाव लड्ने अनुमान गर्न लागेका थिए । खबरहरूका अनुसार अभिनेत्रीले मंडी वा चन्डीगढबाट लोकसभाको चुनावमा उत्रिने छन् ।

कंगना अन्तिम पटक एरियल एक्शनर तेजसमा देखिएकी थिइन्। फिल्मले बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेन । अब उनी फिल्म इमर्जेन्सीमा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । फिल्म सुरुमा नोभेम्बर २०२३ मा रिलिज हुने तालिका थियो, तर २०२४ मा धकेलिएको छ।

इमर्जेन्सीमा श्रेयस तलपदे, अनुपम खेर, स्वर्गीय सतीश कौशिक र महिमा चौधरी पनि मुख्य भूमिकामा छन्।