सय करोड क्लबमा साहरुखको ‘डंकी’

बलिउड नायक साहरूख खान अभिनीत फिल्म ‘डंकी’ सय करोड क्लबमा प्रवेश गरेको छ । यो फिल्म रिलिजको चौथो दिनमा सय करोड क्लबमा प्रवेश गरेको हो । ८५ करोडको बजेटमा बनेको यो फिल्मले आज क्रिसमसको दिनमा पनि बक्स अफिसमा सुखद कमाई गर्ने आँकलन गरिएको छ ।

विशेषगरि, पारिवारिक फिल्म रुचाउने दर्शकहरु हलमा फर्किएपछि राजकुमार हिरानी निर्देशित फिल्मको व्यापार बढेको हो । योसँगै ‘डंकी’ सय करोड कमाउने साहरूखको दशौं फिल्म बनेको छ । 

यो फिल्मले आइतबार ३० करोडको व्यापार गरेको छ । पहिलो दिनमा २९ करोडको ओपनिङ गरेको फिल्मको व्यापार शुक्रबार साउथको फिल्म ‘सलार’ रिलिज भएपछि २१ करोडमा झरेको थियो । तर, शनिबार २५ करोड र आइतबार ३० करोडको व्यापार गर्दै फिल्मले उछाल कायम गरेको छ । 

एक्सन फिल्म रुचाउने दर्शकले यसलाई औसत भनेका छन् । तर, पारिवारिक कथा मन पराउने दर्शकले निकै राम्रो प्रतिक्रिया दिएपछि यसको व्यापार बढेको हो । फिल्मले भारतीय बक्स अफिसमा २ सय करोड माथिको व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्मले ३ दिनमा विश्व बजारबाट १ सय ५० करोड माथिको व्यापार गरिसकेको छ । 

यो फिल्ममा साहरूख खानको साथमा तापसी पन्नु, विक्की कौसल, बोमन हिरानी लगायतका कलाकारको अभिनय छ ।